खप्तड गोल्डकप: ए डिभिजन लिग विजेता मनाङको पुलिस संग हार

मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ‌। अाइतबार धनगढी रंगशालामा निरकुमार राईको एकमात्र गोलमा पुलिस १-० ले विजयी रहयो ।

निकै प्रतिस्पर्धात्मक खेलको ११ अौं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे । लगत्तै अर्कोतर्फ तेज तामाङले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २९ अौं मिनेटमा तिर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट बञ्चित भयो । लगत्तै निरकुमार राईले पेनाल्टी क्षेत्रभित्र बाट गरेको भली प्रहार अाकाशियो ।

पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा हेमन गुरुङको पासमा अोलावाले अाफिज डिफेन्सलाई बिट गर्दै बल लिएर अगाडी बढ्दा रवी पासवानले बक्सअगाडी ट्याकल गर्दा पुलिसलाई सम्भावित खतरा टरेको थियो । उक्त फ्रिकिकलाई कमल श्रेष्ठले सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा आक्रामक देखिएको पुलिसका लागि सुरुवाती मिनेटमा निरकुमार राईको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२ अौं मिनेटमा हेमन गुरुङको क्रसमा मोहमद अासिफको हेडरलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । त्यसको दुई मिनेटमा अर्कोतर्फ तिर्थ रानाको हेडरमा गोलरक्षक विशाल श्रेष्ठ बाधक बने ।

खेलको ६८ अौं मिनेटमा पुलिसले अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरे । ८० अौं मिनेटमा पुलिसका अब्दु करीमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । यस जितसँगै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ ।