क्वाटरफाइनल पुग्न पोर्चुगलले गर्यो गोलको वर्षा

पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम ८ मा पुगेको हो ।

खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे ।

खेलको ३३औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए । ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

५१औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो । उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे ।

खेलको ५५औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए । राफायलले रामोसको पासमा गोल गरेका हुन् ।

५८औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए ।

खेलको ६७औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए ।

जोआ फेलिक्सको पासमा गोल गर्दै २१ वर्षीय रामोसले ह्याट्रिक पूरा गरेका हुन् । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।

त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए । उनी ८७औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए ।

अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।