क्रिस्टियानो रोनाल्डो ग्लोब फुटबल अवार्ड्सको उत्कृष्ट खेलाडी बन्न सफल

युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन् २०१८ का लागि ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । नेपाली समयअनुसार बिहीबार राति दुबईमा आयोजित एक कार्यक्रमबीच रोनाल्डोलाई सो अवार्डको विजेता घोषणा गरिएको हो ।

यसपटक यो अवार्डका लागि रोनाल्डोसँगै एथ्लेटिको मड्रिड तथा फ्रान्सका एन्टोनी ग्रीजम्यान र पिएसजी तथा फ्रान्सकै केलियन एमबाप्पे अन्तिम–३ मा परेका थिए । जसमा रोनाल्डोले दुवै फ्रेन्च खेलाडीलाई पछि पार्दै अवार्ड जितका हुन् । यससँगै यो अवार्ड रोनाल्डोले जम्मा ४ पटक जितेका छन् । उनले यसअघि पनि यो अवार्ड रियल मड्रिडमा छँदा सन् २०११, २०१४ र २०१६ जितिसकेका छन् ।

यो अवार्ड युरोपियन क्लब एसोसियसन र युरोपियन एसोसिएसन अफ् प्लेयर्स एजेन्सीले हरेक वर्ष दिँदै आएको छ । उसले गत मंसिर १० गत अन्तिम ३ जना खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । यो अवार्ड वर्षभरि गरेको प्रदर्शन साथै खेलाडीको व्यक्तित्वका आधारमा दिइन्छ ।

रोनाल्डोले गत सिजन क्लब रियल मड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिग तथा क्लब विश्वकपको उपाधि जिताउन निर्णायक भूमिका खेलेका थिए भने रसिया विश्वकपमा पनि पोर्चुगलका लागि उनले व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरेका थिए ।