‘क्रिस्टियानो भन्दा रोनाल्डो उत्कृष्ट’- लुइस फिगो

रियल म्याड्रिडका पूर्व स्टार लुइस फिगो युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट गोलकर्ता मध्ये एक मान्छन् । तर पनि रियलकै पूर्व स्टार ब्राजिलियन रोनाल्डो लुइस नाजारियो डी लिमा जत्तिको पूर्ण भने क्रिस्टियानो हुन बाँकी रहेको फिगोको बुझाई छ ।

रियलका पूर्व स्टार क्रिस्टियानोले देश र क्लबका लागि गरि ६ सय ६५ गोल गरिसकेका छन् । फुटबलमा उनले कीर्तिमान बनाइसकेका छन् र आउने दिनमा अझै थप कीर्तिमान बनाउने सम्भावना छ । रोनाल्डोले आफ्नो खेल जीवनमा ३ सय ५३ गोल गरे । जसमा ब्राजिलका लागि ६२ गोल गर्ने क्रममा दुई पटक विश्व कप पनि जितेका छन् । दुवै खेलाडीको उच्च प्रशंसा गरेका फिगोले क्रिस्टियानो ब्राजिलियन रोनाल्डो भन्दा धेरै पछि नरहेको बताएका छन् । फिगोले दुवै सुपर स्टारसँग खेलेका छन् ।

‘क्रिस्टिायोनाले हेडमार्फत बढी गोल गरेका छन् । तर दुवै प्रभावशाली खेलाडी हुन्,’ फिगोले भने, ‘क्रिस्टियानो अहिले पनि खेल्दैछन् । मलाई आशा छ उनी सर्वाधिक गोल गर्ने खेलाडीमध्ये एक हुनेछन् । दुवै खेलाडी यस्ता हुन् जसले गोल गर्छन् नै । दुवै पहिला गोल गर्न प्रयास गर्छन् अनि मात्र आराम गर्छन् । ‘ क्रिस्टियानो यहि सिजन रियलबाट युभेन्ट्स पुगेका थिए । उनले सिरिएका १० खेलमा ७ गोल गरिसकेका छन् ।