क्याम्प नाउमा रियल मड्रिडले बार्सिलोनालाई ‘गार्ड अफ अर्नर’ दिनसक्ने

क्याम्प नाउमा हुने ला लिगा अन्तर्गतको ३५ औं खेलमा रियल मड्रिडले बार्सिलोनालाई गार्ड अफ अर्नर दिनसक्ने रियल मड्रिड निकट संचारमाध्यमहरुको समाचारमा उल्लेख छ । बार्सिलोनाले लिगको ३४ औं खेल डिर्पोटिभोको घरेलु मैदानमा खेल्दैछ । अप्रिल ३० मा हुने उक्त खेलमा बार्सिलोना विजयी भएमा जारी सिजनको ला लिगा उपाधि बार्सिलोनाको नाममा रहनेछ ।

बार्सिलोनाले ला लिगाको ३३ खेल खेल्दा ८३ अंक जोडेको छ भने समान खेल खेलेको एथ्लेटिको मड्रिडको ७१ अंक तथा रियल मड्रिडको ६८ अंक रहेको छ । यदि बार्सिलोनाले डिर्पो्टिभोलाई परास्त गरेको खण्डमा बार्सिलोनाको घरेलु मैदानमा हुने एल क्लासिको अघि नै उपाधि सुरक्षित गरिसकेको हुन्छ ।

यूरोपका सर्वोत्कृष्ट लिगहरुमा उपाधि सुरक्षित गरेको टिमलाई गार्ड अफ अर्नर दिने प्रचलन छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीलाई स्वान्सी सिटीले गार्ड अफ अर्नर प्रदान गरेको थियो । तर, मड्रिड डर्बीको पूर्वसन्ध्यामा संचारमाध्यमहरुसँग कुरा गर्दै रियलका प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिडले बार्सिलोनालाई गार्ड अफ अर्नर नदिने बताएका थिए भने बार्सिलोनाको प्रशिक्षक अर्नेष्टो भालभर्डेले भने आफू गार्ड अफ अर्नरको पछि नलागेको प्रतिक्रिया दिएका थिए ।

बार्सिलोनाले यसअघिको खेलमा सेभियालाई ५–० गोलले हराएर स्पेनिस कोपा डेल रेको उपाधि समेत जितिसकेको छ । बार्सिलोना डिर्पोटिभोलाई हराएर एल क्लासिको अघि नै उपाधि सुरक्षित गर्ने दाउमा रहेको छ |

Source: Barca Nepal