क्यामरुनको क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा

संकटा क्लब तेस्रो संकरणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा क्यामरुनको डाउफिन्स फेमली एफसीलाई १ – ० गोल अन्तरले हराएर संकटाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

धनगढीस्थित क्षेत्रीय रंगशालामा संकटालाई जित दिलाउन एलोन म्याक्सवेलले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा लक्ष्मण रुचालको पासमा म्याक्सवेलले गोल गर्दै संकटालाई अन्तिम चारमा पुर्राएका हुन् ।

पाहुना टोलीविरुद्ध संकटाले अन्य केहि गोलको अवसर भने खेर फालेको थियो । खेलको १९ औं मिनेटमा सुवास गुरुङको काउन्टर पासमा लक्ष्मण रुचाल गोल गर्न चुके । उनको प्रहार क्यामरुनी किपरले उत्कृष्ट बचाऊ गरे । यस्तै दोस्रो हाफमा डाउफिन्सले गोल गर्ने प्रयास गरेपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ ।

अब संकटाले फाइनल प्रबेशको लागी बिभागिय नेपाल पुलिस क्लबको सामना गर्नेछ ।