कौटिन्होले बार्सिलोना छाड्नुको कारण मेस्सी

ब्राजिलका लिजेन्ड रिभाल्डोले हालै बार्सिलोनाबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख पुगेका फिलिपे कौटिन्होको भविष्यबारे चिन्ता व्यक्त गरेका छन् ।

उनले कौटिन्हो विश्वस्तरका खेलाडी भए पनि बार्सिलोनामा स्थापित हुन नसक्दा आफू निकै दुःखी भएको बताएका छन् ।

एक अन्तर्वार्तामा बोल्दै रिभाल्डोले यो बताएका छन् कि, कौटिन्हो बार्सिलोनामा स्थापित हुन नसक्नु र क्लबले उनलाई लोनमा भए पनि बाहिर पठाउनुको मुख्य कारणमध्ये एक कप्तान लिओनल मेस्सी हुन् । मेस्सीजस्तो उत्कृष्ट खेलाडी भएको क्लबमा अन्य खेलाडीलाई गएर प्रभाव जमाउन र टोलीमा प्रमुख स्थान लिन कति कठिन हुन्छ भन्ने कुरा कौटिन्होको अनुबन्ध र बहिर्गमनले साबित गरेको रिभाल्डो बताउँछन् ।

‘बार्सिलोनामा मेस्सीजस्ता खेलाडी छन्, जो सधैं आफूलाई उत्कृष्ट लयमा राख्न सक्छन् । उनले अझै तीन वर्ष आफ्नो उत्कृष्ट स्तरबाट खेल्न सक्छन् । यस्ता खेलाडी भएको टिममा गएर कुनै राम्रो खेलाडीलाई स्थापित हुन र टिममा बलियो स्थान बनाउन सजिलो हुँदैन,’ रिभाल्डोले भने ।

रिभाल्डोले अघि थपे, ‘कौटिन्हो लिभरपुलमा छँदाको आफ्नो उत्कृष्ट खेल र स्तरलाई फर्काउन जर्मनी जान तयार भएका हुन् । जबसम्म मेस्सी उत्कृष्ट लयमा हुन्छन्, बार्सिलेनामा जो कोही खेलाडीलाई स्थापित हुन कठिन हुन्छ । किनभने, त्यहाँ अन्य खेलाडीले जति नै राम्रो गरे पनि जस मेस्सीलाई नै मिल्छ । यो पटक–पटक देखिँदै आएको छ ।’

रिभाल्डोले मेस्सी बार्सिलोनाका नेता र कप्तान भएकाले कौटिन्होको लोन सरुवामा मेस्सीको भूमिका पनि रहेको आफूलाई जानकारी भएको बताए ।

‘मैले बुझेसम्म कौटिन्होलाई बेच्न मेस्सीले समेत क्लबलाई सुझाव दिएका थिए । कारण, मेस्सी बार्सिलोनामा नेइमार चाहन्छन् । र, त्यसका लागि एक महँगा खेलाडी बेच्नु क्लबका लागि बाध्यता हो,’ रिभाल्डोले औंल्याए ।