कोरोनाबाट लिजेन्ड इराकी फुटबलरको मृत्यु

इराकी फुटबल लिजेन्ड अहमद राधीको आइतबार कोभिड–१९ संक्रमणपछि उत्पन्न भएको जटिलताका कारण मृत्यु भएको छ । इराकी स्वास्थमन्त्रीको यसको पुष्टि गरेका छन् । जोर्डनमा थप उपचारका लागि जानु ठीक एक घण्टाअगाडि उनको निधन भएको हो ।

सन् १९८६ को विश्वकपमा उनले बेल्जियमविरुद्ध गोल गरेका थिए । यो नै विश्वकपमा इराकबाट भएको एकमात्र गोल थियो । गत साता मात्रै कोरोना भाइरस परीक्षणमा पोजिटिभ पाइएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य स्थितिमा सुधारपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । तर त्यसको केही घण्टामै उनी फेरि अस्पताल फर्कनुपरेको थियो । आइतबार उनको निधन नै भएको हो ।

अस्पतालमा शनिबार जारी गरेको भिडियोमा राधी हरियो जर्सीमा देखिएका थिए । उनलाई श्वास फेर्न गाह्रो भइरहेको थियो । त्यस क्रममा उनले चिकित्सकलाई भनेका थिए, ‘कहिलेकाहीं सास फेर्न समस्या हुन्छ, अन्यथा सबै स्थिति सामान्य छ ।’ इराकले सन् १९८४ र १९८८ मा गल्फ कप जित्दा उनी स्ट्राइकरको भूमिकामा थिए । दुवै अवसरमा उनी एसियाली वर्ष खेलाडी घोषित भएका थिए ।
मेक्सिकोमा भएको विश्वकपमा उनले बेल्जियमविरुद्ध गोल गरे पनि त्यो खेलमा इराक २–१ ले पराजित रह्यो । इराकले समूह चरणमा एक अंक पनि बटुल्न सकेन र त्यहींबाट बाहिरिएको थियो । उनी हेड गर्न माहिर थिए । उनी आम इराकीले चिनेका सबैभन्दा ठूला फुटबल स्टार हुन् । उनको मृत्युको खबरपछि इराकी फुटबलजगतमा सन्नाटा छाएको छ ।