कोरोनाको कहरमा विश्व खेलकुद

कोरोना भाइरसका कारण बिहीबार मात्र इटाली र इंग्ल्यान्डबीचको सिक्स नेसन्स रग्बी युनियन रद्द भयो । डरलाग्डो यो भाइरसका कारण प्रभावित यो अर्को ठूलो खेल रह्यो । कोरोना भाइरस ८० देशमा फैलिइसकेको छ । यसबाट एक लाखभन्दा बढी प्रभावित भइसकेका छन् ।

त्यसमध्ये पनि ३ हजार ४ सय ९५ को निधन समेत भइसकेको छ । विश्व खेलकुदलाई यसले कत्तिको प्रभाव पारेको छ त ? एएफपीले यसबारे गरेको सर्वेक्षण :

टोकियो ओलम्पिक
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाचले टोकियो ओलम्पिक रद्द गर्ने वा सार्नेबारे अहिलेसम्म गहन छलफल नभएको बताएका छन् । उनले भनेका छन्, ‘भर्खरै बसेको ओलम्पिक कमिटीको बैठकमा प्रतियोगिता रद्द वा स्थगित गर्ने हो भने कुनै पनि प्रकारको छलफल भएन । म कुनै प्रकारको दुविधा सिर्जना गर्न चाहन्न । हामी सबै टोकियो ओलम्पिकको सफल आयोजनाका लागि दत्तचित्त छौं ।’ प्रतियोगिता जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा हुँदै छ ।

फुटबल
युरोपमा सबैभन्दा बढी कोरोना भाइरसबाट प्रभावित इटाली रहेको छ । त्यहाँ १ सय ९७ को मृत्यु भइसकेको छ । यहाँका जति पनि ठूला खेल प्रतियोगिता छन्, सबै अप्रिल ३ सम्मका लागि दर्शकरहित बन्द रंगशालामा आयोजना गर्न भनिएको छ । यसै साता मात्र इटाली कपको सेमिफाइनल रद्द गरियो । यस्तै सिरी ‘ए’ का अधिकांश खेल पनि हुन सकेन । त्यसमध्ये ५ खेल यसै साता हुने भनिएको छ । त्यसमा युभेन्ट्स र इन्टर मिलानबीचको खेल पनि छ । जापानको जे–लिगको सुरुआत पनि पछि सारिएको छ, मध्य मार्चसम्मका लागि । चीनले त घरेलु फुटबलका सबै खेल रद्द गरिसकेको छ । चीनमा फेब्रुअरी २२ बाट नयाँ फुटबल सिजन सुरु हुने कार्यक्रम थियो । स्विट्जरल्यान्डमा पनि सबै डिभिजनका फुटबल रद्द गरिएका छन्, मार्च २३ सम्मका लागि ।

भ्यालेन्सिया र एटलान्टाबीचको च्याम्पियन्स लिगको खेल पनि दर्शकबिना खेलाइने छ । यस्तै स्थिति युरोपा लिगमा इन्टर मिलान र गेटाफेबीचको खेल पनि हुनेछ ।

इंग्लिस प्रिमियर लिगमा पारम्परिक रूपमा खेल अगाडि खेलाडीले हात मिलाउने छैनन् । खेलअघि दुवै टिमका खेलाडी लहरै उभिने भने छन् । तर खेलाडीले एकआपसमा हात मिलाउने छैनन् । सिधै खेलका लागि तयार हुनेछन् । फिफा र एएफसीले पनि सन् २०२२ को विश्वकप र सन् २०२३ को एसिया कप छनोटका खेल पछि सार्ने निर्णय गरिसकेका छन् । हाललाई रद्द भएको यी खेलहरू मार्च २६ र ३१ मा हुने कार्यक्रम थियो । नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्नुपर्ने विश्वकप छनोट र एसिया कप छनोटको खेल यही मितिमा थियो, जुन अहिलेलाई स्थगित गरिएको छ ।

अन्य
चाइनिज फर्मुला वन ग्राँपी अब हुने छैन । यस्तै कतार मोटो जीपी र थाइल्यान्ड मोटो जीपी पनि हुने छैनन् । गल्फतर्फ युरोपेली टुर प्रमुखले मलेसिया र चीनमा हुने प्रतियोगिता पछाडि सारिएको बताएका छन् । यूएस एलपीजीए टुरका सुरुआती केही स्पर्धा पनि रद्द भएका छन् । टेनिसको डेविस कप छनोटको इटाली र दक्षिण कोरिया तथा जापान र इक्वेडरबीचको खेल बन्द रंगशालामा हुनेछ । बास्केटबल अफ्रिकी लिग अब पछि मात्र हुनेछ भने एथलेटिक्सतर्फ वर्ल्ड इन्डोर च्याम्पियनसिप अर्को वर्ष मात्र गरिनेछ ।

क्रिकेट
नेपालको एभरेस्ट प्रिमियर लिग (ईपीएल) रद्द भएको छ, जुन मार्च १४ बाट सुरु हुने भनिएको थियो । चौथो संस्करणको ट्वान्टी–२० प्रतियोगितामा वेस्ट इन्डिजका क्रिस गेलले खेल्ने कार्यक्रम थियो । प्रतियोगितामा अफगानिस्तानका मोहम्मद सेहजाद र श्रीलंकाका उपुल थरङगाले पनि खेल्ने भएका थिए ।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ