“कोम्यानले मेरो अपमान गरे”

स्पेनिस क्लब बार्सिलोनाले आफ्नो मिड्फिल्डर मिरालेम प्यानिचलाई टर्किस क्लब बेसिक्टासमा पठाएको छ तर उक्त ट्रान्सफरबाट प्यानिच भने खुसी छैनन्। मिरालेम प्यानिच बार्सामा खेल्ने कुराबाट धेरै उत्साहित थिए तर हाल उनलाई बार्साले एक सिजनका लागि लोनमा बेसिक्टासमा पठाएको छ।

उक्त लोन सम्झौता पछि प्यानिचले बार्साका कोच रोनाल्ड कोम्यानको आलोचना गरेका छन् भने कोम्यानले आफ्नो अपमान गरेको उनले आरोप लगाए। स्पेनिस मिडिया मार्का सँग कुरा गर्दै प्यानिचले कोम्यानको आलोचना गरे।

“कोम्यानले मेरो अपमान गरे। उनी म सँग कहिल्यै बोल्दैनन्! म एक खेलाडी हुँ जो सबै कुरा स्वीकार गर्न सक्छु तर मलाई कुराहरुको व्याख्या चाहन्छु।

“मलाई क्लबमा मेरो भविष्यको बारे राम्रो व्याख्याको आवश्यकता छ- म १५ वर्षको बच्चा होइन। म मेरो तलब घटाउन र बेसिक्टासमा सामेल हुन सहमत भएँ किनकि मलाई फुटबल खेल्न मन पर्छ।

३१ वर्षका बोस्नियन खेलाडी प्यानिच गत वर्ष नै करिब ६० मिलियन युरोमा इटालियन क्लब युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। क्लबमा अनुबन्ध भएपछि उनले बार्सिलोनाका लागि आशा अनुरूप प्रदर्शन भने गर्न सकेका छैनन्। उनले बार्सिलोनाका लागि ३० खेल खेलेका छन्।