कोपा डेल रे मा बार्सिलोनाको लज्जास्पद हार

कोपा डेल रे कपमा साबिक विजेता बार्सिलोना पराजित भएको छ । क्वार्टरफाइनलको पहिलो लेगको खेलमा आफ्ना कप्तान लिओनल मेस्सीबिनै उत्रेको बार्सिलोनालाई सेभिल्लाले आफ्नो घरेलु मौनमा २–० ले स्तब्ध बनायो । खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो ।

तर, खेलको ५८औं मिनेटमा सेभिल्लाका लागि पाब्लो सर्बियाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि खेलमा फर्किन संघर्षरत बार्सिलोनाले दोस्रो गोल खायो । सो गोल खेलको ७६औं मिनेटमा विसम बिन येडरले गरेका थिए । त्यसपछि बाँकी समयमा बार्सिलोनाले गोल गर्न नसक्दा खेल सेभिल्लाले २–० ले जित्यो ।

पहिलो लेग हारेपछि अब बार्सिलोनाले माथि दोस्रो लेगमा पुनरागमन गर्नुपर्ने चुनौती बढेको छ । यता, सेभिल्लाले भने साबिक विजेता बार्सिलोनालाई हराए सेमिफाइनल पुग्ने सम्भावना बढाएको छ । दोस्रो लेगको खेल अर्को साता बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।