केन चोटको कारण मार्च सम्म मैदान बाहिर रहने !

टोटेनह्याम हट्सपुरका इङलिस फरवार्ड हेरी केन गोलीगाँठोको चोटको कारण आगामी मार्च महिनासम्म मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिगतर्फ आइतबार वेम्बलीमा म्यानचेष्टर युनाइटेड विरुद्ध खेल्ने क्रममा २५ बर्षिय केन चोटिल बन्न पुगेका थिए ।

त्यो खेलमा टोटेनह्याम १–० ले पराजित हुन पुगेको थियो । बीबीसीका अनुसार केन मार्चको शुरुवाततिर मात्र अभ्यासमा फर्किन सक्ने बताइएको छ ।

यस सिजन क्लबका लागि २० गोल गर्दै शिर्ष गोलकर्ता समेत रहेका केनले च्याम्पियन्स लिगतर्फ बोरुसिया डर्टमुण्ड विरुद्ध हुने प्रिक्वाटरफाइनलतर्फको दुवै लेग मिस गर्ने निश्चित छ । साथै इङलिस लिग कपतर्फ चेल्सी विरुद्ध हुने सेमिफाइनलको दोस्रो लेगमा पनि केन क्लबका लागि उपलब्ध हुने छैनन् ।