गृहमन्त्री रामबहादुर थापा (बादल) ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । आज सोमबार बसेको संसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै थापाले पौडेल प्रहरीको जवाफी कारबाहीमा मारिएको दाबी गरे ।
पौडेलको मृत्युको जवाफ दिँदै गृहमन्त्री बादल थापाले भने, एउटा नम्बर नलेखिएको मोटरसाइकलसहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।
कुमार पौडेल यही असार ५ गते लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही स्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।