किर्तिमानी रकममा एम्बाप्पेलाई किन्न तयार सिटी

म्यानचेष्टर सिटीका म्यानेजर पेप गार्डिओला आउँदो जनवरी ट्रान्सफर विन्डोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार किलियन एम्बाप्पेका लागि किर्तिमानी २०० मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारीमा छन् ।

सिटीको यो प्रस्तावले सन् २०१७ मा पिएसजीले नेमारका लागि बार्सिलोनालाई गरेको १९८ मिलियन पाउण्डको किर्तिमानलाई तोड्नेछ । यसका साथै एम्बाप्पेका लागि सिटीको बार्षिक २० मिलियन पाउण्डको पारिश्रमिक बोझमा पनि बृद्धि हुनेछ ।

१९ बर्षिय फरवार्ड एम्बाप्पेले सिटीलाई च्याम्पियन्स लिग जिताउन सक्ने विश्वास गार्डिओलाले लिएका छन् । युइएफएको नयाँ नियमअनुसार एम्बाप्पे जनवरीमा सिटीमा आवद्ध भए तापनि उनले सिटीका लागि च्याम्पियन्स लिग खेल्न सक्नेछन् ।

युइएफएले हाल फाइनेन्सियल फेयर प्लेका रुपमा पिएसजीमाथि आवश्यक छानबिन समेत गरिरहेको छ । तर सिटीले एम्बाप्पेलाई अनुबन्ध गरे इङलिस क्लबले पनि आफ्नो एक स्टारलाई बेच्नु पर्नेछ । सिटीले फाइनेन्सियल फेयर प्लेयर नियमबाट जोगिन रहिम स्टर्लिङलाई बेच्न सक्ने बताइएको छ ।

स्टर्लिङको क्लबसँगको सम्झौता आगामी बर्ष सकिंदैछ र यी दुवै पक्षबीच नयाँ सम्झौतालाई लिएर कुनै सहमति बनेको छैन । एम्बाप्पेलाई अनुबन्ध गर्ने दौडमा स्पेनीस जायन्ट बार्सिलोना र रियल मेड्रिड पनि अगाडी छन् । तर सिटीलाई लाग्छ यो दौडमा उसले बार्सा र रियललाई पछि पार्न सक्छ ।