किरणको उत्कृष्ट प्रदर्सनमा टिसी स्पोर्टसको जित

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा दशौं जित निकालेको छ ।

किरणले उत्कृष्ट प्रदर्शन गरेपछि टिसीले बिहिबार राति न्यु रेडियन्ट स्पोर्ट्स क्लबलाई २ – ० ले हराएको हो । टिसीलाई जित दिलाउन अलि अस्फाकले दुई गोल गरे । उनले खेलको चौथो र ८० औं मिनेटमा गोल गरे ।

माल्दिभ्सको उच्च श्रेणीको लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका किरणले रेडियन्टविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । रेडियन्टको केहि उत्कृष्ट प्रहारहरु किरणले बचाएका थिए ।

यो जितसंगै टिसी लिगको शीर्ष स्थानमा उक्लिएको छ । टिसीले ११ खेलबाट १० जितसहित ३० अंक जोडेको छ । २१ अंक जोडेको रेडियन्ट चौथो स्थानमा छ ।