किन खेलीरहेका छैनन् सर्जियो रामोस पीएसजीबाट? डेब्यु कहिले?

रियल मड्रिडबाट यसै सिजनमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका सर्जियो रामोसको सो क्लवमा डेब्यु गर्ने चाहना अझै पुरा हुन सकेको छैन । लिग सुरु हुँदा चोट बोकेका रामोस अझैपनि पुर्ण टिमसँग प्रशिक्षणमा फर्किन सकेका छैनन् ।

३५ बर्षे रामोसको पिडौंलाको चोट लागेपछि लिगमा अहिलेसम्म खेलेका १२ खेल गुमाएका छन । अझैपनि उनी टिमसँग पुर्ण रुपमा प्रशिक्षणमा फर्किनका लागि स्विकृती कुरिरहेका छन ।

यसअघि उनी फ्रेन्च लिगमा एन्जेर्सविरुद्धको खेलमा डेब्यु गर्नसक्ने संभावना रहेको बताइएको थियो । जुन खेल शुक्रबार हुँदैछ । तर टिमका प्रशिक्षक माउरिसियो पोचेटिनो रामोसलाई खेलाएर अझै रिस्क लिन चाहदैनन् ।

उनलाई अझै मेडिकल टिमको रोबरोहमा १० दिन प्रशिक्षण गर्न भनिएको छ । त्यसपछि मात्र उनी टिमसँग सामुहिक प्रशिक्षण गर्न पाउनेछन । उनले अर्को साता च्याम्पियन्स लिग अन्तर्गत हुने आरबी लाइपजिकविरुद्धको खेलमा पनि खेल्न नपाउने भएका छन ।

यदि रामोसले पुर्ण रुपमा प्रशिक्षणमा आफुलाई प्रमाणित गर्न सकेको खण्डमा अक्टोबर २९ मा लिलविरुद्धको खेलमा डेब्यु गर्नसक्ने बताइएको छ ।