कारखानाको कामदार देखि प्रिमियर लिग र एफ ए कप विजेतासम्म

दशक अगाडि कसैले पनि जेमी भार्डीको बारेमा सुनेका थिएन होला- हाल, उनी प्रिमियर लिगमा सबैभन्दा प्रशंसनीय स्ट्राइकर मध्ये एक बनेका छन्, २०१९/२०को सिजनमा गोल्डन बुट जितेका भार्डीले यो सिजन एफ कप जितको साथ लेस्टर सँग अर्को उत्कृष्ट सिजन बिताएका छन्।

शनिवार चेल्सी विरुद्ध लेस्टरको १-०को जित पछि भार्डीले लेस्टर सँग इतिहास बनाए। २०१६मा सबै बाधाअनुरूप भार्डीले लेस्टर सँग प्रिमियर लिग जित्दै इतिहास बनाए भने हाल क्लबको पहिलो एफ ए कप जिते र नयाँ इतिहास बनाए र सो क्रममा उनी एफ ए कपको सबै राउन्ड खेल्ने पहिलो खेलाडी बनेका छन्

शेफील्डमा जन्मेका ३४ वर्षका स्ट्राइकरले २०१९/२०को सिजनमा आर्सेनलका स्टार पिएरे–एमरिक अउबमेयाङलाई पछि पार्दै लिगको गोल्डन बुट जिते। सो क्रममा उनी गोल्डन बुट जित्ने सबैभन्दा बढी उमेर भएका खेलाडी बनेका थिए भने यो सिजन उनले एफ ए कप जितेका छन्।

तर यहाँ सम्म पुग्न उनले धेरै सङ्घर्ष गरेका छन् र उनी फुटबल छोड्न धेरै नजिक पनि थिए।

उनले यो आफ्नो सपनामा पनि सोच्नका थिएनन् होला कि स्टकसब्रिज पार्क स्टील्स, एफसी ह्यालिफ्याक्स टाउनबाट फ्लीटवुड टाउन हुदै अन्तमा लेसेस्टर सिटी सँग को यात्राले उनलाई यहाँ ल्याउने छ भनेर।

भार्डीको जन्म शेल्फील्डको हिलस्बरोमा भएको थियो- १५ वर्षको हुँदा उनले शेल्फील्ड वेडनसडेमा खेल्ने अवसर पाए जुन उनको मन पर्ने क्लब थियो तर उनले राम्रो गर्न सकेनन् र क्लबले उनलाई रिलिज गरिदिए त्यस पछि उनले फुटबल छोडे।

उनले १ बर्स सम्म फुटबल खेलेनन् र अन्त्यमा उनले लोकल क्लब स्टकसब्रिज पार्क स्टीलबाट खेल्न सुरु गरे त्यहाँ उनको तलब £३० प्रति हप्ता थियो जुन निकै थोरै थियो र उनले आफ्नो जीवन चलाउन एक कार्बन फाइबरको कारखानामा काम गर्न सुरु गरे जहाँ उनी दिनको १२ घण्टा सम्म काम गर्थे।

२००७मा उनी इङ्ग्लिस फुटबलको आठौँ- डिभिजनको लिगमा खेल्दै थिए उनले आफ्नो उत्कृष्ट प्रतिभा देखाउन थाले, उनले १०७ खेलमा ६६ गोल गरेका थिए र उनलाई २०१०मा एफसी ह्यालिफ्याक्सले साइन गरेको थियो।

उनको राम्रो प्रदर्शन जारी थियो र २०१२मा उनलाई लेस्टरले साइन गरेको थियो, केही वर्ष पछि उनले लेस्टरमा पनि आफ्नो उत्कृष्ट खेल देखाए र सबैलाई चकित पार्दै लेस्टरले २०१५/१६मा प्रिमियर लिग जित्यो, लेस्टरको सो उपाधिमा भार्डीको महत्त्वपूर्ण भूमिका थियो।

लिग जिते पछि उनी एक फुटबल स्टार बने उनलाई धेरै ठुलो क्लबबाट पनि प्रस्ताव आउन सुरु भयो तर उनी लेस्टर प्रति वफादार रहे। उनले भनेका थिए “जब कुनै क्लब मलाई साइन गर्न इच्छुक थिएन, लेस्टरले मलाई साइन गर्‍यो अब म यो क्लबलाई धोखा दिन सक्दिन।”

उनले लेस्टर सँग लगातार ११ लिग खेलमा गोल गर्ने रेकर्ड पनि बनाए भने उनले इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट विश्वकप पनि खेले र ३३को उमेरमा उनले प्रिमियर लिगको गोल्डन बुट जितेका थिए भने र उनले १०० प्रिमियर लिग गोल पनि पुरा गरेका थिए भने हाल उनले लेस्टर सँग एफ ए कप जित्दै नयाँ नयाँ इतिहास बनाएका छन्।