काउटिन्हो दिएर स्टार खेलाडी साइन गर्ने बार्साको योजना

बार्सिलोना आफ्नो स्टार खेलाडी फिलिप काउटिन्होलाई आउँदो ट्रान्सफर विन्डोमा बेच्न खुल्ला हुने खबर रहेको थियो तर हाल रिपोर्ट अनुसार बार्साले काउटिन्होलाई अन्य खेलाडी सँग साट्ने योजना बनाएको जानकारी छ र आर्सनलका स्टार औबामेयाङ माथि बार्साको नजर रहेको खबर छ।

हाल औबामेयाङ भने आर्सनलको कारबाहीमा परेका छन्। “अनुशासन उल्लङ्घन” गरेको भन्दै क्लबका कोच आर्टेटाले उनलाई टिमबाट बाहिर राख्दै आएका छन् भने उनलाई आउँदो ट्रान्सफर विन्डोमा आर्सनलले बेच्न सक्ने जानकारी छ।

काउटिन्हो प्रिमियर लिगमा फर्किन इच्छुक रहेको खबर आउँदै गर्दा काउटिन्हो दिएर औबामेयाङ साइन गर्ने बार्साको योजना हुन सक्ने चर्चा छ।

काउटिन्होलाई २०१८ मा १०५ मिलियन पाउन्डमा बार्सिलोनाले लिभरपुलबाट साइन गरेको थियो, जुन इतिहासको तेस्रो महँगो स्थानान्तरण हो।

ब्राजिलियन स्टारले बार्सामा सोचे जस्तो खेल्न सकेका छैनन् भने हाल ट्रान्सफर विन्डो नजिक आउँदै गर्दा उनलाई बार्साले बेच्ने चर्चा रहेको छ र प्रिमियर लिग क्लब एभर्टन, न्यूकासल युनाइटेड सँग उनको नाम जोडिएको बेला हाल उनलाई आर्सनलले पनि भित्राउन सक्ने खबर आएको छ।