कहिले घोषणा हुँदैछ बालोन डि‘ओर अवार्ड? को–को छन् प्रबल दाबेदार?

विश्व फुटबलमा पुरुषतर्फ सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि‘ओरमा यसपटक कसले बाजी मार्ला भन्न अड्कलबाजी झन् बढेको छ । जति–जति यो अवार्ड घोषणा हुने दिन नजिक आउँदैछ, फुटबल जगत्मा यसको चर्चा चुलिँदो छ । यो अवार्ड ‘फ्रान्स म्यागजिन’ले दिने गर्छ । उसले केही पहिला फिफासँग मिलेर यो अवार्ड दिए पनि अहिले एकल रूपमा दिन थालेको छ ।

यो अवार्ड पछिल्ला १० वर्ष मात्रै २ जना खेलाडीले जितेका छन् । सन् २००७ मा ब्राजिलका काकाले यो अवार्ड जितेका थिए । त्यसयता लगातार १० वर्ष युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीले जितेका छन् । उनीहरूले यो अवार्ड समान ५–५ पटक जितेका छन् ।

यो अवार्ड रोनाल्डोले सन् २००८ मा म्यानचेस्टर युनाइटेडमा छँदा जितेका थिए । त्यसपछि अर्को वर्ष सन् २००९ देखि मेस्सीले लगातार २०१३ समम ४ वर्ष अवार्ड जिते । सन् २०१४ मा फेरि रोनाल्डोले यो अवार्ड जित्दा २०१५ मा मेस्सीले नै जिते । त्यसयता लगातार ३ वर्ष यो अवार्ड रोनाल्डोले जितेका छन् ।

तर, यसपटक भने रोनाल्डो र मेस्सीलाई यो अवार्डको दाबेदारीमा कमजोर मानिएको छ । त्यसमा पनि मेस्सी रोनाल्डोभन्दा निकै पछि पर्ने अनुमान गरिएको छ । यद्यपि, मेस्सी र रोनाल्डो दुवै यो अवार्डका लागि टप–३० मा भने परेका छन् ।

पछिल्ला चर्चा र खेल विश्लेषकहरूको भनाइ तथा तथ्यांकसमेतलाई आधार मान्दा यसपटक रोनाल्डो र मेस्सीको बालोन डि‘ओरमाथिको दबदबा तोडिने सम्भावना छ । यसपटक रोनाल्डोसँगै रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिकलाई यस अवार्डका लागि प्रमुख दोबदार मानिएको छ ।
पछिल्ला केही रिपोर्टअनुसार त यसपटक टप–३ मा मेस्सी र रोनाल्डो दुवै नपर्ने दाबी गएिको छ । केही मिडियाले टप–३ को सूची ‘लिक’ भएको भनदै उनीहरूले रोनाल्डो र मेस्सी दुवै यसपटक शीर्ष तीनमा नहुने दाबी गरेका छन् ।

यसपटक टप–३ मा मोड्रिकसँगै फ्रान्स तथा पिएसजीका केलियन एमबाप्पे, रियल मड्रिड तथा फ्रान्सकै राफेल भाराने र एथ्लेटिको मड्रिड तथा फ्रान्सकै एन्टोनी ग्रीजम्यानमध्ये ३ जना टप–३ मा पर्ने चर्चा छ ।

यो अवार्डको घोषणा आजको ११ दिनपछि अर्थात् डिसेम्बर ३ मा फ्रान्सको पेरिसमा हुँदैछ ।