कतारको हारमा नेपाललाई फाइदा

आईसीसी टी २० विश्वकप एसिया छनोटमा कुवेतले पहिलो जित हात पारेको छ। दुई खेलमा हारेको कुवेतले शुक्रवार कतारलाई १० रनले पराजित गरेको छ।

खेलमा कुवेतले पहिलो ब्याटिङ गर्दै २० ओभरमा १९७ रन बनाएको थियो। जवाफमा कतारले २० ओभर खेल्दै १८८ रन मात्र बनाउन सक्यो।

पहिलो खेलमा मलेसियासँग हारेको कुवेतले वर्षाका कारण सिंगापुरसँग खेलमा अंक बाँडेको थियो। कतारलाई हराएपछि कुवेतले ३ खेलबाट ३ अंक जोडेको छ। तर २ खेलबाट ३ अंक जोडेको घरेलु टोली सिंगापुर रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ।

उता दोस्रो हारपछि कतारको ३ खेलबाट २ अंक मात्र छ र विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कठिन बनेको छ। पहिलो खेलमा सिंगापुरसँग पराजित भएको कतारले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।

नेपालले भने भोलि कुवेतसँग तेस्रो खेल खेल्नेछ। नेपालको २ खेलबाट २ अंक छ। कतारको हारले नेपाललाई धेरै फाइदा मिलेको छ।