अर्को वर्षसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी नियन्त्रणमा नआए टोकियो ओलम्पिक २०२० स्थगित हुने आयोजक कमिटीका प्रमुखले बुधबार बताएका छन् । उनले प्रतियोगिताको मिति फेरि नसारिने पनि जनाएका छन् । चिकित्सकीय विशेषज्ञहरूले संक्रमणमाथि नियन्त्रणका लागि अझै समय लाग्ने हुनाले नयाँ घोषित मितिमा प्रतियोगिता हुनेमा शंका व्यक्त गरेपछि जापानी मिडियामा दिएको अन्तर्वार्तामा ती प्रमुखले यस्तो चेतावनी दिएका हुन् ।
कोरोनाकै कारण टोकियो ओलम्पिक एक वर्ष पछाडि सरेर सन् २०२१ को जुलाई २३ बाट सुरु हुने मिति तय गरिएको छ । तर प्रतियोगिता आयोजक कमिटीका प्रमुख योसिरो मोरीले सन् २०२२ मा यसको आयोजनाको कुनै सम्भावना नरहेको र त्यस्तो स्थितिमा पूरा प्रतियोगिता नै स्थगित हुने बताए । उनले भनेका छन्, ‘टोकियो ओलम्पिक नयाँ मितिमा पनि हुन सकेन भने स्थगित नै हुनेछ । फेरि एक वर्ष पछाडि सार्ने कुनै योजना छैन ।’
मोरीले ओलम्पिक इतिहासमा यो प्रतियोगिता विश्वयुद्धका बेला मात्र स्थगित भएको स्मरण गर्दै अहिले पूरा विश्व अदृश्य शत्रुसँग युद्ध गरिरहेको पनि बताए । संक्रमण रोक्न सके जापानले अर्को वर्ष सफलतापूर्वक ओलम्पिकको आयोजना गर्ने पनि दाबी गरे । उनको भनाइ थियो, सबै अहिले यो संक्रमण रोक्न लागिपरेका छन् । मोरीको यो भनाइ आएपछि टोकियो ओलम्पिक अर्को वर्ष हुनेमा पनि शंका उत्पन्न भएको छ ।
@Kantipur