ओलम्पिक छनोट : नेपाल र भारतको बराबरी, हालसम्मकै सर्वश्रेष्ठ नतिजा

टोकियो ओलम्पिक २०२० को महिला फुटबलको एसियाली छनोटको प्रारम्भिक चरण अन्तर्गत समूह सी को पहिलो खेलमा नेपाल र भारतको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपालले सुरुवाती अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा कप्तान निरु थापाले ११ औं मिनेटमा गोल गर्दै नेपाललाई अगाडी बढाएकी थिइन् । तर पहिलो हाफ सकिन ८ मिनेट बाँकी हुँदा भारतले बराबरी गोल फर्कायो । भारतका लागि कमला देवी युम्नामले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन ।

दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक फुटबल खेलेका थिए। दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिन सकेनन् । यस बराबरीसँगै अंक तालिकामा दुवै टोलीको १-१ अंक भएको छ । समूहको अर्को खेलमा आज आयोजक म्यानमार र बंगलादेश भिड्दैछन् ।

नेपाल र भारतबीच अहिलेसम्म नेपालले जित दर्ता गर्न सकेको छैन । यो भारतविरुद्ध नेपालको दोस्रो बराबरी पनि हो । यसअघिका ८ खेलमा नेपाल ७ खेलमा पराजित भएको थियो भने १ खेल मात्र बराबरीमा टुंगिएको थियो । सन् २०१६ को दक्षिण एसियाली खेलकुदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । यस हिसाबले भारतविरुद्ध नेपालले आज हात पारेको १-१ बराबरी नै सर्वश्रेष्ठ नतिजा हो ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष टोली र अन्य दुई उत्कृष्ट दोस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ । दोस्रो चरणमा छानिएको १२ टोलीलाई फेरि तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।

दोस्रो चरण छनोटको प्रत्यक तीन समूहका शीर्ष टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।