अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) की सदस्य हेली विकनहेजरले अहिलेकै स्थितिमा ओलम्पिक खेलकुद आयोजना गरिनु ‘संवेदनहीन र गैरजिम्मेवार’ कार्य हुने धारणा व्यक्त गरेकी छन्।
‘अहिले विश्वभर आइपरेको संकट ओलम्पिक खेलकुदभन्दा निकै ठूलो हो’, यसै वर्ष आयोजना हुने ओलम्पिक तत्कालका लागि स्थगित गरिनुपर्ने धारणा राख्दै उनले भनेकी छन्।
जापानी सरकारी अधिकारीहरूले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गरिरहँदा हेलीले यस्तो धारणा राखेकी हुन्। यसै साता जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गरेका थिए।
मंगलबार मात्र जापानका ओलम्पिक मन्त्रीले पनि आफूहरू विश्व खेलकुदको महाकुम्भ आयोजना गर्न तयार रहेको बताएका थिए।
ओलम्पिक खेलकुद आगामी जुलाई २४ देखि अगस्त ९ तारिखसम्म जापानको राजधानी सहर टोकियोमा आयोजना हुने कार्यक्रम छ। तर, यतिबेला विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण ओलम्पिक खेलकुद केही समयका लागि स्थगित गरिनुपर्ने माग उठन थालेको छ। कोरोना भाइरसको त्रासका कारण अहिले विश्वभरका सम्पूर्ण खेलकुद गतिविधि स्थगित भइसकेका छन्।
यसै वर्ष आयोजना हुने भनिएको युरो कप फुटबल पनि एक वर्ष पछाडि सारिएको छ। ‘कोरोना भाइरसले विश्वलाई गाँजेको छ। आगामी २४ घण्टाभित्र अवस्था कस्तो हुन्छ भनेर कल्पना गर्न सक्ने स्थिति छैन। यस्तो स्थितिमा ओलम्पिक आयोजना गर्छु भन्नु राम्रो कुरा होइन’, पूर्वखेलाडीसमेत रहेकी ४१ वर्षीया हेलीले भनेकी छन्।’ हेलीसहितको क्यानेडियन टोलीले शीतकालीन ओलम्पिकमा लगातार चार पटक आइस हकीको स्वर्ण पदक जितेको थियो।
यसअघि ब्रिटेनका धावक गुय लियरमन्थले तत्कालका लागि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने बताएका थिए। उनले गत वर्ष सम्पन्न युरोपियन इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा ब्रिटिस टोलीको कप्तानको भूमिका निर्वाह गरेका थिए। उनी आठ सय मिटर दौडका धावक हुन्। गुय लियरमन्थ ओलम्पिक रोक्न माग गर्ने पहिलो ब्रिटिस खेलाडी हुन्।
‘ओलम्पिक आयोजना गर्ने यो उपयुक्त समय होइन। मानिसको जीवनभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन। यसतर्फ सबैको ध्यान जानु आवश्यक छ’, उनले भनेका छन्, ‘सफल ओलम्पिक हामी सबैको चाहना हो तर, त्यसका लागि उपयुक्त समय पर्खनु बुद्धिमानी हुनेछ।’
यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले भने हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यसैगरी आईओसीका अर्का सदस्य डिक पाउन्डले पनि यही अवस्थामा ओलम्पिक हुन नसक्ने बताएका छन्। उनले स्वास्थलाई ख्याल गरी आईओसी यसमा सचेत हुनुपर्ने पनि बताए। ओलम्पिकलाई लक्षित गरी गरिएको तयारीलाई कतिपय देशले स्थगित गरिसकेका छन्।
@Annapurna