ओलम्पिकमा ‘वाइल्ड कार्ड’ कै आशा

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा प्रतिस्पर्धा गर्न खेलाडीका लािग तीन माध्यम हुन्छन्, छनोट पार गर्ने, अनिवार्य सहभागी हुनुपर्ने पौडी र एथलेटिक्सको ‘युनिभर्सालिटी प्लेसेस’ मा पर्ने तथा ‘वाइल्ड कार्ड’ प्राप्त गर्ने । विश्वस्तरमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट खेलाडीहरू छनोट प्रतियोगिताबाटै ओलम्पिक पुग्छन् ।

छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र हात पारेको नतिजालाई आधार बनाएर ओलम्पिकमा मौका दिने माध्यम वाइल्ड कार्ड हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) का सबै सदस्य देशले ओलम्पिकमा सहभागी हुन पाउने अर्को बाटो पौडी र एथलेटिक्स हो, यी दुई खेलमा सबै देशका खेलाडीले प्रतिस्पर्धा गर्नैपर्छ ।

नेपालले सन् १९६४ को टोकियो संस्करणदेखि गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गर्न थालेको हो । यसवीच नेपालले १३ संस्करणमा सहभागिता जनायो । नेपालबाट एउटा संस्करणमा १ जनादेखि १६ जनासम्म खेलाडी पुगे । तर, छनोट पार गरेर ओलम्पिक खेल्ने तेक्वान्दोका संगीना वैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) मात्रै हुन् । ओलम्पिकमा छनोट चरण आयोजना गर्न थालेपछि नेपाली खेलाडीको लागि महाकुम्भ यात्राको माध्यम वाइल्ड कार्ड र युनिभर्सालिटी कोटामै निर्भर भइरहेका छ । टोकियोमा जुलाई २४ देखि अगस्ट ९ सम्म हुने ३२ औं संस्करणमा पनि नेपालको सहभागिता यही दुई माध्यम बन्ने निश्चित छ ।

धेरै खेलमा ओलम्पिक छनोट सकिन बाँकी छ तर छनोट पार गरेर टोकियो यात्रा गर्ने नेपाली खेलाडीको सम्भावना अत्यन्तै न्यून रहेको छ । अनिवार्य सहभागी हुनुपर्ने पौडीको महिला र पुरुषको १–१ कोटामा संघको सिफारिसअनुसार एनओसीले मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण, २ रजत र ३ कांस्यपदक जितेकी गौरिका सिंह र पदकविहीन भए पनि पुरुषततर्फ उत्कृष्ट प्रदर्शन गरेका एलेक्स गाडेगार्ड शाहको नाम आईओसीलाई पठाइसकेको छ ।

‘गौरिका र एलेक्सले टोकियो ओलम्पिक खेल्ने निश्चित हो,’ नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले भने, ‘एथलेटिक्सको १ खेलाडीको कोटामा संघले नाम सिफारिस गरेको छैन । हामीले वाइल्ड कार्डको लागि ७ खेलका १२ खेलाडीलाई सिफारिस गरेका छौं । सम्बन्धित खेलका छनोट प्रतियोगिता सकेपछि अन्तिम समयमा मात्रै वाइल्ड कार्ड पाउने खेलाडीको टुंगो लाग्नेछ ।’ विगतामा एथलेटिक्समा पनि पौडीमा जस्तै दुई खेलाडीले ओलम्पिक खेल्ने अवसर पाउँथे । तर, त्यसमा परिवर्तन गर्दै यसैपाली (टोकियो २०२०) मा एथलेटिक्समा १ खेलाडीले मात्रै अनिवार्य सहभागिताको कोटामा ओलम्पिक खेल्न पाउने व्यवस्था आईओसीले ल्याएको एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले बताए ।

गत मे, २०१९ देखि ७ खेलमा १२ खेलाडीलाई ‘ओलम्पिक छात्रवृत्ति टोकियो २०२०’ पाइरहेका छन् । प्रशिक्षण गर्न र प्रतियोगिता खेल्नको लागि मासिक ५ सय अमेरिकी डलरको उक्त छात्रवृत्ति ओलम्पिक छनोटको अन्तिम प्रतियोगितासम्म रहने व्यवस्था छ । कार्यकारी सचिव सुजनलालका अनुसार वाइल्ड कार्डको सिफारिसमा परेका खेलाडीको सुविधा भने निरन्तर रहने गर्छ । छात्रवृत्तिमा नरहेपनि जुडोकी सोनिया भट्ट र बक्सिङकी मिनु गुरुङ पनि यसपालि वाइल्ड कार्डको सिफारिसमा परेका छन् । १३ औं सागमा मिनुले स्वर्ण जितेकी थिइन् भने महिलातर्फ वरीयतामा नेपालकै नम्बर १ रहेकी सोनिया कांस्यमै सीमित भएकी थिइन् ।

छात्रवृत्ति पाएका खेलाडीहरूलाई नै अनिवार्य सहभागिता र वाइल्ड कार्डको हकदार मानिन्छन् । तर, गौरिकाले त्यो परम्परा तोड्दै रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी बन्ने अवसर पाएकी थिइन् । उनीसँगै रियो पुगेका ७ मध्ये ३ नेपाली खेलाडीलाई वाइल्ड कार्डले ओलम्पिकको ढोका खोलेको थियो । बेइजिङ २००८ मा पनि ४ खेलाडीले वाइल्ड कार्ड पाएका थिए । तर, लन्डन २०१२ मा भने त्यस्तो मौका १ नेपालीले मात्रै पाएको थियो । वाइल्ड कार्ड पाउने आधारबारे एनओसीका कार्यकारी सचिव सुजनलालले भने, ‘आईओसी, आईएफ (सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघ) को प्रतिनिधि रहेको कमिसनले ओलम्पिक छात्रवृत्रि, अन्तर्राष्ट्रिय वरीयता र ओलम्पिक कमिटिको प्राथमिकताको आधारमा वाइल्ड कार्ड पाउने खेलाडी चयन गर्छन् ।’ उनकाअनुसार सुटिङको ओलम्पिक छनोट सम्पन्न भइसकेको छ र यसमा नेपाली खेलाडीले छनोटको लागि न्यूनतम अंक हासिल गरेका छन् ।

दोहामा गत नोभेम्बरमा भएको एसियन सुटिङ च्याम्पियनसिपमा कल्पना परियारले ६१३.९ र सुस्मिता नेपालले ६०५.१ अंक जोडेका थिए । ओलम्पिक छात्रवृत्तिमा रहेका यी दुवै खेलाडी १० मिटर एयर राइफल स्पर्धाका हुन् । अरू खेलको छनोट
प्रतियोगिता जुन २०२० सम्म सकिनेछ । एनओसीले वाइल्ड कार्डको लागि सिफारिस गरेको खेलमा सबभन्दा बढी कोटा सुटिङ र जुडोमा छन् । सुटिङमा १२ पुरुष र १२ महिलाले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्न पाउनेछन् । जुडोमा वाइल्ड कार्डको लागि २० जनाको कोटो छुट्याइएको छ तर पुरुष र महिलाको संख्या प्रष्ट पारिएको छैन । भारोत्तोलनमा ४ महिला, ४ पुरुष, बक्सिङमा ५ पुरुष ३ महिला, तेक्वन्दो, आर्चरी र पहिलोपल्ट ओलम्पिकमा समावेश करातेमा पुरुष र महिलाका २–२ कोटा निर्धारण गरिएको छ ।

@kantipur