ए.सि मिलान रियल मड्रिडको स्पेनिश खेलाडी भित्र्याउन सफल

एजेन्सी, इटालियन क्लब ए.सि मिलान स्पेनिश क्लब रियल मड्रिडका स्पेनिश खेलाडी ब्राहिम डियाज भित्र्याउन सफल भएका छन्। रिपोर्टका अनुसार उनी लोनमा दुई वर्षका लागि ३ मिलियन युरोमा ए.सि मिलानमा अनुबन्धित भएका हुन्।

ए.सि मिलानसँग २२ मिलियन युरोमा उनलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि उक्त सम्झौतामा रहेको भनिएको छ। रिपोर्टका अनुसार उक्त सम्झौता अनुसार उनी स्थायी रुपमा ए.सि मिलानमा अनुबन्ध भएको खण्डमा रियलले उनलाई २७ मिलियन युरोमा पुनः अनुबन्ध पनि गर्न सक्नेछन्। उनी करिब १७ मिलियन युरोमा २०१९ मा इङलिस क्लब म्यान्चेस्टर सिटिबाट रियल मड्रिडमा अनुबन्ध भएका थिए।
२१ वर्षका स्पेनिश फर्वार्ड डियाज २०२५ सम्म रियल मड्रिडमा अनुबन्ध छन्। उनले गत सिजन पनि ए.सि मिलानमा लोनमा बिताएका थिए। मिलानका लागि उनले गत सिजन ३९ खेल खेल्नुका साथै ७ गोल पनि गरेका थिए।