‘ए’ डिभिजन लिग माईकुजुबाट लाइभ हुने, एन्फाले गर्यो ४ वर्षे सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनलाइन लाइभ ब्रोडकाष्टिङ कम्पनी माईकुजु टिभीसंग चार बर्षे सम्झौता गरेको छ ।

एन्फाले बुधबार डिजिटल पार्टनरको रुपमा स्विस कम्पनी माईकुजुसंग चार बर्षे सम्झौता गरेको हो । एन्फाले अनलाइनबाट सम्झौता गरेको हो । एन्फाका सिईओ इन्द्र मान तुलाधर र माईकुजुका सिईओ पेड्रो प्रेसाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतासंगै एन्फाले आयोजना गर्ने फिफा, एएफसी, साफ प्रतियोगिता र घरेलु लिग लगायतका हरेक फुटबल प्रतियोगिताको अनलाइन लाइभ माईकुजु टिभीबाट हुनेछ ।

सम्झौतासंगै शुक्रबारबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको ९१ वटै खेलको लाइभ माईकुजुबाट हुनेछ । यस्तै ‘ए’ डिभिजन लिग अफिसियल टेलिभिजन पार्टनरले युट्युबबाट लाइभ देखाउन पाउने छैनन् ।

माईकुजुले लाइभ गरेवापत दिने रकम भने एन्फाले खुलाएको छैन । एन्फाका अनुसार माईकुजुसंगको सम्झौतामा रकम नखुलाउने सहमति भएको छ ।

एन्फाले गत बर्षबाट नै माईकुजुसंग सहकार्य गर्दै आइरहेको थियो । तर, एन्फाले सम्झौता गरेको थिएन । एन्फाले गत बर्षबाट परीक्षणको रुपमा माईकुजुको प्रयोग गरिरहेको थियो ।
नेदरल्याण्डमा हेडक्वाटर रहेको माईकुजुले विभिन्न राष्ट्रको फुटबल संघलाई लाइभको लागि सफ्टवेयर दिदै आएको छ ।