ए डिभिजन लिगमा विदेशी खेलाडी राख्न मन्त्रालयको आनाकानी

युवा तथा खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल रोकेको छ । श्रम स्वीकृतिका लागि करिव २४ जना खेलाडीको फाइल मन्त्रालयमा पेस गरिएको छ । तर मन्त्रालयले नेपाली खेलाडीलाई प्राथमिकता दिनु पर्ने भन्दै रोकेको छ ।

तर, यसअघि नै सम्झौता र श्रम स्वीकृति पाइसकेका विदेशी खेलाडीले भने लिग खेल्न पाउनेछन् । अहिले संकटा र थ्रीस्टारमा मात्र विदेशी खेलाडी खेलिरहेका छन् । यी दुई क्लबले गत पुसमा नै खेलाडीको श्रम स्वीकृति लिएका थिए ।

अहिले मन्त्रालयमा ब्रिगेड ब्वइज क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम, फ्रेण्डस्, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबका खेलाडीको फाइल रोकिएको छ । मच्छिन्द्र क्लब, च्यासल युवा क्लब र सरस्वती क्लबले पनि विदेशी खेलाडीको प्रकृया अघि बढाइरहेका छन् ।

यता क्लबहरुले भने विदेशी खेलाडी अनुबन्धको प्रकृया अघि बढाउन पहल गरिदिन एन्फालाई आग्रह गरिरहेका छन् । विदेशी खेलाडीलाई नखेलाइएमा क्लबहरुले ठूलो आर्थिक भार पर्ने हुँदा यो विषयलाई चाँडो टुंगो लगाउनु पर्ने क्लबको आग्रह छ ।