‘ए’ डिभिजन लिगको लागि सम्पुर्ण तयारी पुरा – लिगको सबै जानकारी

शनिबारबाट सुरु हुने पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको छ ।
अखिल नेपाल फुटबल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

करिब चार बर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युराेड टिम एनअारटी र विभागीय टोली त्रिभुवन अार्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एनआरटी र आर्मीबीचको उद्घाटन खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । अपरान्ह ३ बजे सुरु हुने खेलअघि भव्य सांगीतिक प्रस्तुति दिईने एन्फाले जनाएको छ । सांगीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ ।

यस्तै उद्घाटनको अवसर फिफाका दक्षिण एसिया रिजनल डेभलपमेन्ट अफिसर प्रिन्स रफस आउने एन्फाले जनाएको छ ।

त्यस्तै लिगको दोस्रो खेलमा आइतबार संकटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई खेलपछि लिग अनिश्चित समयको लागि रोकिने एन्फाले जनाएको छ । त्यसपछिका खेलहरु अर्को सूचना निकालेर आयोजना गर्ने एन्फाले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने कारण लिग केहि समय स्थगित हुने एन्फाले जनाएको छ । बंगबन्धुमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालले ताजकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।

तर, उद्घाटन खेलमा राष्ट्रिय टोलीमा रहेका आर्मीका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

रेलिगेसन नहुने लिग माघ १६ सम्म हुनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।

लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।

त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।
लिगको तयारीको लागि एन्फाले क्लबलाई २० लाख उपलब्ध गराउने छ ।