ए डिभिजन लिगको दोस्रो खेल आज हुँदै – खेलको पुरा जानकारी

साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सरस्वती युवा क्लब र सीएमजी क्लब संकटा आमनेसामने हुँदैछन् । लिगको फेरबदल गरिएको तालिका अनुसार दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्समा दिउसो तीन बजे हुनेछ । सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले यसअघि पनि लिगको जिम्मेवारी सम्हालिसकेका छन् । संकटाका प्रशिक्षक सल्यान खड्गी भने पहिलो पटक लिगमा जिम्मेवारी सम्हाल्दैछन् ।

संकटमा थ्री स्टारका पूर्व मिडफिल्डर विष्णु गुरुङसहित लक्ष्मण रुचाल, अमित तामाङ, लगायतका खेलाडी छन् । सरस्वतीमा पनि अनुभवी फरवार्ड राजकुमार घिसिङलाई आबद्ध गराइएको छ । दुवै टोलीमा विदेशी खेलाडी रहेका छन् । शनिबार भएको लिगको पहिलो खेलमा आर्मी र एनआरटि दुई दुईको बराबरीमा रोकिएका थिए । राष्ट्रिय टोलीले बंगबन्धु कप खेल्ने भएसँगै आजको खेलपछि लिग स्थगित हुने छ ।