ए डिभिजन लिगको सदाबहार दाबेदार थ्रीस्टार क्लब

पछिल्लो समय घरेलु फुटबलमा थ्रीस्टार क्लबले निकै आरोह अवरोध व्यहोयो। एएफसी कपको सहभागिताबाट बञ्चित गरिएको घटना होस वा फुटबल नखेल्ने निर्णय, सबै घटना नेपाली फुटबलकालागि अप्रिय थिए ।

एक समय लथालिङ्ग बनेको नेपाली फुटबलको शिकार थ्रीस्टार बन्यो । परिस्थिती जस्तो निर्दयी बनेपनि थ्रीस्टारले फुटबल छोड्न कहाँ सक्थ्यो र ?

धेरैले भन्छन्, थ्रीस्टारसंग जोडिएका हरेक ब्यक्तिको नशामा रगतसंगै फुटबल पनि बग्छ ।
घरेलु फुटबल धरासयी बन्दा धेरै खेलाडी बेरोजगार बने । धेरै फुटबल क्लबका गतिविधि शुन्य प्राय रहे । तर थ्रीस्टारले राम्रा खेलाडीलाई नियमित रुपमा तलब दिएर क्लबमा राख्यो ।
अब लिग सुरु हुने बेला आएको छ । कागजमा सही, सबै भन्दा बलियो टोली थ्रीस्टार भनेर दाबी गर्न सकिन्छ ।

कारण, राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडी क्लबमा आबद्ध छन् । अझ थ्रीस्टार समर्थकलाई खुसी कुरा भरपर्दा मिडफिल्डर बिक्रम लामा ए डिभिजन लिगबाट मैदान फर्कदै छन् । चोटका कारण उनी करिब ७ महिना मैदान बाहिर रहेका थिए ।

अर्को कुरा, थ्रीस्टारले रञ्जन विष्ट र रुपेश केसीलाई समेत क्लबमा ल्याउन सफल भएको छ । त्यस हिसावमा क्लबले ए डिभिजन लिगलाई आफ्नो उपाधि रक्षाको अभियानको रुपमा लिएको छ ।

‘हाम्रो दाबी उपाधिमै हो । त्यसैले हामीले चलेका राम्रा स्टार खेलाडी क्लबमा राखेका छौ ।’ अध्यक्ष अरुणमान जोशी भन्छन् ।

एन्फाको चरम लापरबाहीले थ्रीस्टारले एएफसी प्लेअफ खेल्न पाएन । एन्फासंग असन्तुष्टि जनाउदै थ्रीस्टारले करिब १० महिना फुटबलबाट टाढा रहने निर्णय गर्‍यो ।
जब विवादहरु किनारा लागे । थ्रीस्टार मोफसलको प्रतियोगितामार्फत खेलमा फर्कियो । केही उपाधि जित्यो तर मुख्य कुरा खेलाडीलाई क्लबसंगै राख्न सफल भयो ।

‘एन्फाको लापरबाहीपछि हामी फुटबलबाट टाढिन पुग्यौ । तर जब फुटबलमा फर्कियौ, खेलाडीलाई आफुसंग राख्न सफल भयौ । सोही कारण हामी बलियो अवस्थामा छौ ।’ जोशी भन्छन् ।

ललितपुरे क्लबले सहिद स्मारक ए डिभिजन लिग ४ पटक जितिसकेको छ । सन् १९९७, १९९८, २००४ र २०१२–१३ मा गरि चार पटक उसले उपाधि उचालेको छ । ७२ सालमा भएको राष्ट्रिय लिगको उपाधि समेत क्लबले हात पा¥यो ।
नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक मेघराज केसी नेतृत्वमा रहेको थ्रीस्टारको खेलाडी नामावली यसप्रकार रहेको छ ।

गोलकिपर : एलेन न्यौपाने, पुर्ण चेम्जोङ, अभिषेक बराल
डिफेन्डर : अनन्त तामाङ, रजिन धिमाल, विजय धिमाल, विष्णु सुनुवार, अशोक खवास, जिवन गुरुङ, पिटर सेगुन
मिडफिल्डर : विक्रम लामा, निराजन खड्का, सुनिल बल, रुपेश केशि, मिसन लामा, मिक्छेन लामा, दिपेश घले, सुशिल राई, दिप्सन राउत
स्ट्राइकर : अनिल गुरुङ, रञ्जन विष्ट, अजयी मार्टिन, बुद्ध लामा, सुसन श्रेष्ठ, जेनिस प्रजापती