एसीसी इस्टर्न रिजन ट्‍वान्टी–२० : नेपाल बाहिरिने स्थितिमा

ब्याटिङको समस्याबाट पार पाउन नसक्दा एसीसी इस्टर्न रिजन ट्वान्टी–२० कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । एसिया कप छनोटको पहिलो खुड्किलोका रूपमा रहेको जारी प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल आइतबार हङकङसँग पनि ४३ रनले हार्न पुग्यो ।

एसीसी इस्टर्न रिजन ट्वान्टी–२० मा हङकङसँग आउट भएर फर्कदै नेपालका कप्तान ज्ञानेन्द्र मल्ल । तस्बिर सौजन्य : क्रिकेटिङ नेपाल

यो हारले सेप्टेम्बरमा यूएईमा हुने एसीसी एसिया कपमा छनोट हुने नेपालको लक्ष्यमा गम्भीर धक्का लाग्न सक्छ । इस्टर्न रिजनबाट फाइनलिस्ट टोली अगस्टमा एसिया कप छनोटमा सहभागी हुन पाउँछन् । वेस्टर्न रिजनबाट छनोट भएका कुवेत र यूएईसँग यस प्रतियोगितामा २ टिमले राउन्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गर्नुपर्नेछ । छनोटको शीर्ष स्थानमा रहने टोलीले एसियाका ५ पूर्ण सदस्य टोलीहरूसँग एसिया कप खेल्न पाउनेछ ।

नेपाल शीर्ष दुईको दौडबाट लगभग बाहिरिसकेको छ तर गणितीय सम्भावना भने सकिसकेको छैन । नेपालले सिंगापुर र घरेलु टोली थाइल्यान्डसँग खेल्न बाँकी छ । अहिलेसम्म मलेसिया २ जितसहित शीर्ष स्थानमा छ । हङकङ र सिंगापुर १–१ जितसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल र थाइल्यान्डले दुवै खेल हारेका छन् ।

मलेसियाले लगातार दोस्रो विजय हात पार्नेक्रममा आइतबार थाइल्यान्डलाई ८ विकेटले पराजित गर्‍यो ।
थाइल्यान्डको टर्डथाई मैदानमा लगातार दोस्रो खेलमा नेपालको व्याटिङपंक्ति कमजोर देखियो । ओपनिङमा नेपालले परीक्षण गरेको कुशल मल्लसँग कप्तान ज्ञानेन्द्र मल्लको तालमेल मिल्न सकेको छैन । मध्यक्रममा पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र विनोद भण्डारीहरूले पनि आआफ्नो स्थानमा न्याय गर्न सकिरहेका छैनन् ।

१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर मल्लद्वयले ४२ रनको साझेदारी गरे । अघिल्लो खेलमा मलेसियासँग रन बनाउन नसकेका कुशलले १४ बलमा १९ रन बनाएर आउट भए । १४.३ ओभरमा कप्तान ज्ञानेन्द्र ४६ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपाल ९०–६ को कठिन स्थितिमा पुगिसकेको थियो । ज्ञानेन्द्रले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

मध्यक्रममा पारम (४), दीपेन्द्र (५), पवन सर्राफ (१) र विनोद भण्डारी (५) रनमै आउट हुँदा नेपालको इनिङ कमजोर बनेको थियो । सातौं नम्बरमा ब्याटिङ गरेका आरिफले १० रन बनाए । नेपालको इनिङ्समा उनी दोहोरो अंकको रन बटुल्ने तेस्रा ब्याट्सम्यान हुन् । सन्दीप लामिछाने र सुशान भारीले खाता खोल्न सकेनन् । १८.१ ओभरमा १ सय ११ रनमा अलआउट हुनुअघि अन्तिम ब्याट्सम्यानको रूपमा आएका अविनाश बोहोराले ७ बलमा १ छक्का र १ चौकासहित १२ रन बनाएर नेपालको स्कोर तीन अंकमापुर्‍याएका थिए ।

बाबर हायत र अंशुमन रथको अनुपस्थितिमा आफ्नो लय भेट्टाउन संघर्षरत हङकङलाई चीर प्रतिद्वन्द्वी नेपालविरुद्ध जित दिलाउन हरून अर्सादले ५ विकेट लिए । उनले ३.१ ओभरमा १६ रन खर्चिए । अफ्ताव हुसेनले ३ र इसान खानले २ विकेट लिए ।
यसअघि टस हारेको हङकङका साहिद वासिफ र निजाकात खानले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । निजाकातले २९ बलमा ६ चौका र २ छक्कासहित ४८ रनको उत्कृष्ट इनिङ खेले । साहिदले २६ रन बनाए । हरून अर्साद (२७) र कप्तान अइजाज खान (२९) रनको योगदानपछि हङकङले २० ओभरमा ६ विकेट गुमाएर मध्यम योगफल खडा गरेको थियो ।

नेपालको बलियो पक्ष मानिएको बलिङपंक्ति पनि यस खेलमा अनुशासित रहेन । तीव्र बलरहरू करण केसी र अविनाश बोहोरा विकेटविहीन रहेको खेलमा स्पिनर सन्दीप र सुशानले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट झारे । लगातार दोस्रो खेलमा १ सय ५० भन्दा बढी रन खर्चिएको नेपाल ब्याटिङमा पनि २० ओभर टिक्न सकेको छैन । आफ्नो तेस्रो खेल नेपालले मंगलबार सिंगापुरसँग खेल्नेछ ।

@Kantipur