एसिया कप: भारत र पाकिस्तानको बिजयी शुरुवात

युएईमा जारी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर फोरतर्फको पहिलो खेलमा दुई दावेदार टोली भारत र पाकिस्तानले जित हात पारेका छन् ।

दुबईमा सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले हरायो । टस जित्दै पहिले फिल्डिङ रोजेको भारतले बंगलादेशलाई १७३ रन मात्र बनाउन दियो । ब्याटिङतर्फ बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४२ रनको योगदान दिए ।

बलिङतर्फ भारतका लागि रविन्द्र जडेजाले ४ विकेट लिए भने जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३–३ विकेट हात पारे । उता जवाफी लक्ष्यका साथ उत्रिएको भारतले कप्तान तथा ओपनर रोहित शर्माको ८३ रनको नटआउट पारीको सहयोगमा ३६.२ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाउँदै जित हात पार्यो ।

भारतका लागि अर्का ओपनर शिखर धवनले पनि ४० रनको योगदान दिए भने महेन्द्र सिंह धोनीले ३३ रन बनाए । खेलको म्यान अफ द म्याच कसिलो बलिङ गर्दै ४ विकेट लिएका भारतका रविन्द्र जडेजा घोषित भए ।

त्यस्तै शुक्रबार राती नै अबुधाबीमा सम्पन्न अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । टस जित्दै पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५७ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि हस्मतुल्लाह शाहिदीले नटआउट ९७ रनको पारी खेले । त्यस्तै कप्तान अशगर अफगानले पनि ६७ रनको महत्वपूर्ण योगदान दिए ।

उता जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४९.३ ओभरमा ७ विकेट गुमाएर २५८ रन बनाउँदै रोमाञ्चक जित हात पारेको थियो । पाकिस्तानका लागि इमाम उल–हकले सर्वाधिक ८० रन बनाए । त्यस्तै खेलको म्यान अफ द म्याच समेत घोष्ति शाहेब मलिकले नाबाद ५१ रनको योगदान दिए ।

अब सुपर फोर तर्फको दोस्रो खेलतर्फ भोली आइतबार भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने सोही दिन अफगानिस्तान र बंगलादेश पनि भिड्दैछन् । राउण्ड रोबिन लिगका आधारमा हुने सुपर फोरको खेलतर्फ शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।