एसियाली खेलकुदमा सहभागी हुन्दा ७ करोड खर्च

इन्डोनेसियामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने एसियाली खेलकुद -एसियाड) को १८ औं संस्करणमा सहभागिता जनाउन ७ करोड रुपैयाँ खर्च हुने राष्ट्रिय खेलकुद परिषदले जनाए थियो।

पत्रकार सम्मेलनमा सदस्यसचिव केशवकुमार विष्टले सरकारले दिएको ५ करोड रुपैयाँ अपुग हुने भएकाले थप रकम मागेको बताए ।

‘एसियाडको तयारी र सहभागिताका लागि ७ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । जसमध्ये सरकारले अहिलेसम्म ५ करोड रुपैयाँ उपलब्ध गराएको छ’ एसियाड सहभागिताबारे बताउँदै सदस्यसचिव विष्टले भने ।

विष्टले तयारीमा साधन र स्रोतले भ्याएसम्म खेलाडीलाई सुविधा दिएको दावी पनि गरे । ‘खेलाडीको प्रशिक्षणमा संघबाट आएको प्रस्तावलाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौं । पदकको सम्भावना र नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीलाई मध्यनजर गरी खेलाडी सहभागी गराएका हौं’ उनले भने ।

एसियाड इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुँदैछ । जहाँ एसियाका नेपालसहित ४५ देशको सहभागिता रहने छ ।

नेपालबाट २९ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित २ सय ८५ जना एसियाडमा सहभागी हुँदै छन् । जसमा १ सय ८५ खेलाडी -पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोट्र्स क्लाइम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।