एसियन गेम्समा नेपालले पदक जित्ने पक्का

१८औं संस्करणको एसियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ ।

प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ । दक्षिण कोरिया २१९२ अंकसहित तेस्रो तथा तेस्रो चरणको खेल सकिदासम्म शीर्ष स्थानमा रहेको इन्डोनेसिया चौथो स्थानमा झरेको छ ।

बुधबार हुने पाँचौ तथा अन्तिम चरणको खेलमा यही प्रदर्शनलाई निरन्तरता दिन सके नेपालले जारी एसियाडमा पहिलो पदक जित्नेछ । नेपाली टोली पहिलो र दोस्रो चरणको खेल सकिदा नेपाल तेस्रो स्थानमा रहेको थियो । तर, तेस्रो चरणमा नेपाल चौथो स्थानमा झरेको थियो ।

प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् ।
चौथो चरणको खेलमा नेपालका तीन खेलाडीले टाक्स पूरा गरेका कारण नेपाल दोस्रो स्थानमा उक्लिएको हो । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् । महिलातर्फ भने नेपाली टोली छैटौ स्थानमा यथावत छ ।