एसियन कप फुटबलमा भारतको थाइल्यान्ड माथी उत्कृष्ट जित

भारतको सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीको दुई गोलको मद्दतमा भारतले एसियन कप फुटबलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको छ । भारतको जितमा सुनिल क्षेत्रीले दुई तथा अनिरुध थापा र जेजे लालपेख्लुले समान १ गोल गरे । पराजित टिमका लागि तिरासिल डाङ्दाले गोल गरे ।

सुनिल क्षेत्रीको पेनाल्टी गोलबाट भारतले २७औं मिनेटमा सुुरुवाती अग्रता बनाएको थियो । तर, भारतको त्यो अग्रता लामो समय टिकेन । ३३औं मिनेटमा थाइल्यान्डका तिरासिलले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुमै सुनिल क्षेत्रीले गोल गरेपछि भारतले खेलमा २–१ कोे अग्रता बनायो । यससँगै क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोलसङ्ख्या ६७ पुर्याएका छन् । ६८औं मिनेटमा अनिरुध थापाले गोल गरे । ८०औं मिनेटमा जेजे लालपेख्लुले गोल गरेपछि भारतले ४–१ को सहज जित निकाल्यो ।

एसियन कपमा भारतको यो पहिलो जित हो । भारतले आठ खेल खेलेपनि अहिलेसम्म जित हात पार्न सफल भएको थिएन । आठौं प्रतिस्पर्धामा भारतको यो पहिलो जित हो । जितसँगै भारत समूह ‘ए’ मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यही समूहको शनिबार भएको खेलमा युएई र बहराइनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।