एशिया कप छनोटमा नेपालले हार्नुका ४ कारण

मलेसियाको मैदानमा उत्कृष्ट नतिजा निकाल्दै एसिया कप खेल्ने नेपालको सपना पुरा हुन सकेन । लिग चरणका ५ खेलमा दुईमा मात्रमा जित निकालेको नेपालको खराव प्रदर्शनले क्रिकेट समर्थक पनि निराश भए । पुरै प्रतियोगितामा नेपाली क्रिकेट टिम धरै ठाउँमा चुक्न पुग्यो ।

कहाँ कहाँ चुक्यो त नेपाल ?

१) ब्याटिङमा निराशा
नेपाली क्रिकेटको सबै भन्दा कमजोर पक्ष नै ब्याटिङ नै हो । यसअघिका प्रतियोगितामा पनि ब्याटिङ पक्ष सधै कमजोर हुदै गएकोमा त्यो कमजोरी यसपटकको प्रतियोगितामा पनि दोहोरीयो । बलिया प्रतिद्वन्द्वीविरुद्ध नेपाली खेलाडीको ब्याटिङ खासै जम्न सकेन । त्यसमा पनि ओपनिङ जोडीको खराव प्रदर्शन यसपटक पनि सुधार हुन सकेन ।

यो प्रतियोगितामा नेपालको ओपनरको ठूलो साझेदारी भनेको अर्धसतक रहेको थियो । जुन सिंगापुरविरुद्ध गरेका थिए । पुरै ५ खेलमा नेपालका चार खेलाडीले मात्र सय रन पुरा गरे । जसमा दिपेन्द्र ऐरीले १३८, आरिफ शेखले १२५ सागर पुनले एक सय सात र ज्ञानेन्द्र मल्लले एक सय एक रन बनाए ।

बाँकी खेलाडीको ब्याटिङ टिठ लाग्दो नै रह्यो । यो प्रतियोगितामा नेपालका कुनैपनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन । उच्च साझेदारी भनेको ८८ रनको रह्यो जुन दिपेन्द्र ऐरी र आरिफ शेखले गरेका थिए । यो प्रतियोगिताको मुख्य कमजोरी ब्याटिङ नै रह्यो ।

२) स्ट्राइक बलरको अभाव
नेपाली टिममा सबै भन्दा बलियो पक्ष फिल्डिङ र बलिङ हो । तर यो प्रतियोगितामा नेपाली बलरले राम्रो प्रदर्शन गरेर जिताएको एउटा मात्र खेल रह्यो त्यो थियो मलेसिया विरुद्ध । अरु खेलमा नेपाली बलर विपक्षी विरुद्ध लडखडाए । नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी सन्दिप बने । उनले १४ विकेट लिदा बसन्त रेग्मी ७ तथा सोमपाल कामीले ६ विकेट हात पारे । तर नेपाली बलरले सबै प्रतियोगितामा विपक्षीलाई दबावमा राख्न कमैमात्र सके । जुन हारको अर्को कारण बन्यो ।

३) ओभर कन्फिडेन्ट
नेपाली क्रिकेट टिम मलेसिया पुग्नु भन्दा अगाडी श्रीलंकामा प्रशिक्षण गरेको थियो । जहाँ उसले सबै खेलमा जित निकालेको थियो । त्यो भन्दा पनि अगाडी नेदरल्याण्डस् विरुद्ध दोस्रो एकदिवसिय खेलमा हात पारेको जितले नेपाली खेलाडीमा आत्मविश्वास निकै थियो ।

तर उसले डिभिजन लेभलमा खेलेका प्रतिद्वन्द्वीको तत्कालको अवस्थालाई राम्रोसंग अध्ययन नगरेको देखियो । ओमान, हङकङ जस्ता टिम जो नेपालको स्तरमा राम्रो मानिन्छन उनीहरुले नेपालको भन्दा राम्रो तयारी गरेर आएका थिए । नेपाली खेलाडी पहिलो खेलबाट नै बढी आत्मविश्वासका साथ मैदानमा उत्रिए, जसका कारण नजिता उल्टो हुन गयो ।

४) खेलाडी रिप्लेसमा कमजोरी
यो प्रतियोगिताको सुरुवातमा ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ओपनिङको जिम्मेवारी सम्हालेका थिए । तर त्यो जोडी पुरै रुपमा फ्लप भयो । दोस्रो खेलमा पनि सोहि जोडी उत्रदा फेरी राम्रो गर्न सकेन । लगातार दुई खेलमा चल्न नसकेपछि नेपालले तेस्रो खेलमा ओपनर परिवर्तन त गरे तर जो नचलेको खेलाडी थिए उनलाई बेन्चमा राख्नुको सट्टा उल्टो गरियो । यो प्रतियोगितामा फ्लप खेलाड सुवास खकुरेललाई दोस्रो खेलपछि आराम दिनुपर्ने थियो । उनको स्थानमा सागर पुनले पनि ओपनिङ गर्न सक्थे तर त्यो गर्न सकेन । यतिमात्र होइन रोहित पौडेल र अनिल साह राम्रोसंग चल्न नसकेका बेला उनीहरु मध्य एकलाई हटाएर विनोद भण्डारीलाई मौका दिनुपर्ने थियो तर त्यो पनि भएन ।