एशिया कप छनाेटः नेपाल युएइ संग पराजित

जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल १७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो ।
हिजोको खेलमा पनि ओमानविरुद्ध सात विकेटले पराजित भएको नेपाल राउन्ड रोविन लिगमा शीर्ष दुईमा परेर उपाधि भिडन्त गर्ने सम्भावना पनि कमजोर देखिएको छ ।

२५५ रन पछ्याउने क्रममा नेपालले शुरुआतदेखिनै राम्रो गर्न सकेन् । युएईका अहमद राजाले ४ तथा, मोहम्द नाभेदले ३ विकेट लिएका थिए ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएपछि विकेट पतनको श्रृंखला शुरु भएको थियो ।

त्यसपछि मैदान आएका कप्तान पारस खड्का पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी जम्मा २० बल खेल्दै १६ रन बनाएर आउट भए ।

अर्का ब्याट्सम्यान सागर पुनको आजको खेल सम्झन लायक रहेन् । उनी ३ रनमै आउट भएपछि नेपालले ४३ रन बनाउँदा ३ विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी र अर्का ओपनर सुवास खकुरेलले ८८ बलमा ५८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए ।