एशिया कपमा हङकङले खेल्ने सबै खेललाई आइसीसीले एकदिवसीय मान्यता

एशिया कप क्वालिफायर जितेर एशिया कपमा छनौट भएको हङकङले एशिया कपमा खेल्ने सबै खेललाई आइसीसीले एकदिवसीय मान्यता दिने भएको छ।

२०१४ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको हङकङले गत मार्चमा भएको विश्वकप छनौटका क्रममा नेदरल्यान्ड्ससँग प्लेअफमा पराजित भएपछि गुमाएको थियो।
हङकङले अहिलेसम्म २४ एकदिवसीय खेल खेल्दा ९ खेलमा जित निकालेकाे छ भने १४ खेलमा हार बेहोरेको छ। त्यस्तै एक खेलमा कुनै नतिजा आएको छैन।

आगामी सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र एशिया कप क्वालिफायरबाट छनौट भएको हङकङसहित ६ देश एशिया कप खेल्दै छन् ।
अब हङकङ भारत र पाकिस्तानसहित समूह ए बाट खेल्ने छ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् ।
आइसीसीले तालिका अनुसार १५ सेप्टेम्बरमा बंगलादेश र श्रीलंकाबीच हुने छ, त्यस्तै १६ सेप्टेम्बरमा पाकिस्तान र हङकङबीच, १७ सेप्टेम्बरमा श्रीलंका र अफगानिस्तानबीच, १८ सेप्टेम्बरमा भारत र हङकङबीच, १९ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच र २० सेप्टेम्बरमा बंगलादेश र अफगानिस्तानबीच समुह चरणका खेल हुने भएका छन्।