एल क्लासिको बराबरीमा टुंगियो

एल क्लासिको गोलरहित बराबरीमा टुंगिएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

बार्सिलोनाका गोलरक्षक मार्क आन्द्र टेर स्टेगनले उत्कृष्ट प्रदर्शन गरे । बराबरीसँगै यि दुई टोलीलाई अंक तालिकामा कुनै फरेबदल रहेको छैन । बार्सिलोना १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान खेलबाटै समान ३६ अंकसहित रियल दोस्रो स्थानमा यथावत छ ।

नोउ क्याम्पमा बुधबार राति भएको खेलको १०औं मिनेटमा करिम बेन्जेमाले पहिलो आक्रमण बुनेको थियो । बेन्जेमाको प्रहार गोलरक्षक स्टेगनले बचाएका थिए । ११औं मिनेटमा बार्सिलोनाले पेनाल्टी अपिल गरेपनि भिएआरले मान्यता पाएन ।

१७औं मिनेटमा रियलले खेलमा अग्रता लिने सुन्दर मौका खेर फाल्यो । कर्नरबाट आएको बललाई ड्यानियल कार्भाहलले क्रस गरेको बललाई क्यासमिरोले हेडिङ गरेपनि जेरार्ड पिकेले गोल लाइनबाट बचाएदिए । लगत्तै क्यासमिरोकै प्रहार पिकेले ब्लक गरिदिए ।

२६औं मिनेटमा बार्सिलोनाका गोलरक्षक स्टेगनले अर्काे सुन्दर बचाउ गरे । ३१औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहार रियलका कप्तान सर्जियो रामोसले ब्लक गरिदिए । लगत्तै फेडरिको भालभेर्डेले झन्डै २५ यार्डबाट गरेको सशक्त प्रहार स्टेगनले बचाइदिए ।

४१औं मिनेटमा मेस्सीको पासमा जोर्डी अल्वाले गोलरक्षक थिवाउट कोर्टुवालाई बिट गर्दै गरेको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । ४४औं मिनेटमा भालभेर्डेको भली प्रहार गोलरक्षक स्टेगनले सहजै बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

६०औं मिनेटमा मेस्सीको पासमा एन्टोइन ग्रिजमन चुके ।

६७औं मिनेटमा मेस्सीको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपनि भिएआरको मान्यता पाएन । फरल्यान्ड मेन्डीको क्रसमा बेलले क्लोज रेन्जबाट गोल गरेपनि शुरुमै क्यासमिरो अफसाइड रहेको थियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।