‘एमबाप्पे रियल मेड्रिड गएपछि रोनाल्डो भन्दा उत्कृष्ट बन्नेछन्’

किलियन एमबाप्पे अन्ततः रियल मेड्रिड जाने र रोनाल्डो भन्दा बढि बेलोन डि ओर उपाधि जित्ने मोनाकोका पूर्व प्रशिक्षक लुइस काम्पोसले दाबी गरेका छन् । उनका अनुसार एमबाप्पेले २० वर्षको उमेरमै पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट खेल्दै अहिले नै ठुलै उपलब्धी हासिल गरिसकेको र उनिसँगै लामो फुटबल करियर बाँकि रहेको पनि अझै सफलता पाउन सक्नेछन् ।

एमबाप्पेको प्रदर्शनको बलमा उनको टोलीले अहिले नै दुईपटक लिग १ को उपाधि जितेको छ भने यस्तो कलिलो उमेरमा उनले फ्रान्सबाट खेल्दै विश्वकपको उपाधि पनि दिलाइसकेका छन् । त्यस्तै उनले पहिलो पटक प्रदान गरिएको ब्रम्हाण्डकै उत्कृष्ट युवा खेलाडिको उपाधी पनि पाइसकेका छन् । यि बाहेक यो सिजनको फ्रान्सेली लिगमा उनले १९ खेलमा १६ गोल पनि गरिसकेका छन् भने आउँदा वर्षहरुमा उनिबाट अझै आश गरिएको छ ।

फुटबलमा यसरी चम्कीनुअघि एमबाप्पे काम्पोसको टोली मोनाकोमा आबद्ध थिए । उनले त्यतिबेलानै यि युवा फुटबल स्पेनको लिगमा तहल्का मच्चाउने अनुमान लगाइसकेको पनि बताएका छन् । त्यसमाथी रियल मेड्रिडले स्टार फुटबलर ल्याउने इतिहास नै भएकोले पनि एमबाप्पे अन्ततः त्यहि पुग्ने विश्वास उनको रहेको थियो ।

टेलेफुटसँग कुरा गर्दै काम्पोसले भने, ‘एमबाप्पे आक्रामक फुटबलर हुन् , जुन हामीले अति उच्च स्तरका फुटबलरमा देख्ने गरेको गुण हो । सोही कारण पनि म उनलाई रियल मेड्रिडको जर्सी लगाएको देख्छु जस्तो लाग्छ, किनभने उक्त क्लबमा उत्कृष्ट फुटबलरहरु जान चाहन्छन् । भविष्यमा मैले रियल मेड्रिडको घरेलु मैदानमा एमबाप्पेले खेलिरहेको कल्पना गरिरहेको हुन्छु । ’

काम्पोसले एमबाप्पेलाई नेमार र रोनाल्डोसँग तुलना गर्दै भने, ‘हालका दिनमा उमेरलाई बिचार गर्दा नेमार भन्दा एमबाप्पे अब्बल छन् । उनि भविष्यमा रोनाल्डो भन्दा उत्कृष्ट पनि हुनेछन् । म त उनले बढि बेलोन डि ओर उपाधि जित्ने देखिसकेको छु । ’

सन् २०१८ को बेलोन डि ओरमा एमबाप्पे समग्रमा चौथो स्थानमा हुँदै पाँचौ स्थानमा रहेका लियोनल मेस्सी भन्दा अगाडि रहेका थिए । फरक क्लबमा गइ अनुभव तथा सिकाइले नै खेलाडि उत्कृष्ट हुने भएकाले रियल मेड्रिड पुगेमा एमबाप्पेले उत्कृष्ट प्रशिक्षण पनि पाउने उनको भनाइ छ ।