एपी वान टेलिभिजनबाट ए डिभिजन लिग लाइभ प्रसारण हुने

ए डिभिजन लिग फुटबल एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । एन्फाले ब्रोडकाष्टिङ पार्टनरको रुपमा शुक्रबार एपी वान एचडी टेलिभिजनसंग सम्झौता गरेको छ । एन्फाले डिजिटल पार्टनर र अनलाइन लाइभका लागि भने माईकुजुसंग यसअघि नै सम्झौता गरिसकेको छ ।

एन्फाले तीन बर्षको लागि एपी वानसंग सम्झौता गरेको हो । सम्झौतासंगै ‘ए’ डिभिजन लिगका ९१ वटै खेलहरु एपी वानबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रत्यक्ष प्रशारण गरेबापत एपी वानले यस बर्ष एन्फालाई ३० लाख उपलब्ध गराउनेछ । यो रकम बार्षिक बढ्ने एन्फाले जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले एपीवानले अर्को बर्ष ३५ लाख र तेस्रो बर्ष ४० लाख उपलब्ध गराउने जानकारी गराए ।

‘ए’ डिभिजन लिग शनिबारबाट सुरु हुँदै छ । उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

रेलिगेसन नहुने लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन् । राउण्ड रोविन लिगको आधारमा हुने लिगको विजेताले ५० लाख पाउने छन् । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।

त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।