एपीएल: सन्दीपको टिम लिओपार्डस विजयी

युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा सन्दीप लामिछाने रहेको टिम नगरहर लिओपार्डसले जित निकालेको छ । बुधबार बेलुका भएको खेलमा लिओपार्डसले शीर्ष स्थानको बल्ख लिजेन्ड्सलाई ६ विकेटले हराएको हो ।

युएईको शारजाहमा लिजेन्ड्सले दिएको १३४ रनको लक्ष्य
लिओपार्डसले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । लिओपार्डसका लागि आन्द्रे फ्लेचरले ४८ रन जोडे । यस्तै साहिदीले अविजित ३१ रन जोडे । लिजेन्ड्सका अहमेद कमवलले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन जोडेको थियो । लिजेन्ड्सका लागि रबी भोपराले ३५ रन जोड्दा डर्विश रासोलीले २७ रन जोडे ।

तर, लिओपार्डसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई लिजेन्ड्सविरुद्ध खेलाएको थिएन । पक्टिया प्यान्थर्सविरुद्ध डेब्यु खेलमा उच्च प्रदर्शन गरेपनि सन्दीपलाई लिओपार्डसले टिममा नराखेको हो । उनले डेब्यु खेलमा दुई विकेट लिएका थिए ।

जितसंगै चौथो स्थानको लिओपार्डसले ८ खेलबाट ६ अंक जोडेको छ । र, लिओपार्डसले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यता, लिजेन्ड्स ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

लिगको पहिलो भेटमा लिजेन्ड्सले लिओपार्डसलाई २५ रनले हराएको थियो । लिओपार्डसले पहिलो खेलको हारको बदला समेत लिएको छ ।