एपीएफलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा विभागीय टिम एपीएफलाई २ – १ गोल अन्तरले पराजित गर्दै मनाङ शतप्रतिशत जितसहित लिगको शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङलाई जित दिलाउन आफिज ओलावाले र अन्जन बिष्टले एक एक गोल गरे । एपीएफका नबिन लामाले एक गोल गरे ।

खेलको २० औं मिनेटमा ओलावाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा एपीएफले पेनाल्टी पायो । मनाङका मोहमद आसिफले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा नबिनले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

तर, खेलको ४५ औं मिनेटमा मनाङले पेनाल्टी प्राप्त गर्यो । एपीएफका सन्तोस कुमार कटवालले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा अन्जनले गोल गर्दै मनाङलाई पहिलो हाफमा २ – १ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल मनाङले २ – १ ले आफ्नो बनायो ।

एपीएफविरुद्धको जितसंगै मनाङले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।यसअघि मनाङले उपाधि दाबेदार थ्री स्टार, एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो । मनाङले ४ खेलमा ४ जित निकाल्दै १२ अंक जोडेको छ । मनाङले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो । आर्मीको १० अंक छ ।
४ खेलबाट ४ अंक जोडेको एपीएफ आठौ स्थानमा छ ।