एन्फाले ४५ जिल्लामा ग्रासरूट फुटबल कार्यक्रम सुरू गर्दै

नेपालको ग्रासरूट फुटबल विकास गर्ने उद्देश्यका साथ अखिल नेपाल फुटबल संघले यसै महिनाको अन्तिम देखि ग्रासरुट फुटबल कार्यक्रम गर्ने भएको छ ।

तल्लो स्तरबाटै उमेर समूहको फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले एन्फाले प्रत्यक जिल्ला फुटबल संघलाई नगद सहित फुटबल सामग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले जिल्लाका फुटबल संघलाई खेल सामग्री तथा चेक हस्तान्तरण गरे ।

एन्फाले प्रत्यक जिल्लामा फुटबल गतिविधि बढाउनका लागि प्रशिक्षणमा आवस्यक पर्ने फुटबल, विप्स, कोन लगायतका सामग्रीसँगै आर्थिक सहयोग प्रदान गरेको हो । ग्रासरुट कार्यक्रम फागुन सम्म चल्नेछ ।

एन्फाले आठ पहाडी जिल्लालाई १० लाख उपलब्ध गराएको छ भने बाँकी जिल्लाहरुलाई पाँच–पाँच लाख दिएको हो । फिफा फरवाडै फुटबल विकास कार्यक्रम अन्तर्गत एन्फाले खेल सामग्री र आर्थिक सहयोग गरी कुल तीन करोड १० लाख लगानी गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलले खेलकुदले सामाजिक सद्भाव बढाउन योगदान दिने भन्दै परियोजनाको ठोस प्रस्ताव ल्याएमा सरकारले त्यसलाई पूरा गर्न कुनै कसर बाँकी नछोड्ने प्रतिक्रिया दिए । ‘योजनाका साथ आउनुस् सरकाले २० को १९ हुन दिँदैन ।’ रक्षामन्त्री पोखरेलले भने ।

उनले खेलकुदलाई राजनीतिबाट टाढा राख्नु पर्ने बताउँदै यो परियोजनालाई निरन्तरता पाओस भन्ने शुभेच्छा ब्यक्त गरे ।