एन्फालाई लिग भन्दा बंगबन्धु किन प्यारो?

नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला बंगबन्धु गोल्ड कप खेल्न बंगलादेशमा छ। मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले ताजिकिस्तानसँग २-० ले पराजित हुँदै गोल्डकपको शुरुवात गरेको थियो। साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिने खतरा एकातर्फ छ भने सहभागिता जनाउने निर्णयकै कारण एन्फा नेतृत्वको चर्को आलोचना भइरहेको छ।

राष्ट्रिय टोलीका दुई मुख्य खेलाडी बिना नै बंगबन्दु गोल्ड कप खेल्न जानु नै नेपालको ठुलो चुनौती थियो। पहिलो खेल नै ढुङ्गाजस्तो भएको नेपालकालागि दोस्रो खेल ६ अक्टोबरमा प्यालेस्टाइनसँग खेल्ने छ। पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द भने यसपटक टोलीमा छैनन्। दुवै खेलाडी विदेशी लिगमा खेल्ने भएकाले आफ्नो क्लबको खेलमा नै व्यस्त छन्।

साफपछि किरणले टीसी स्पोर्ट्सको लागि लिग खेल्दै छन्। त्यस्तै यता रोहितले पनि इन्डोनेसिया डर्बीमा व्यस्त छन्। उक्त प्रतियोगितामा उनको टोली सोचें अनुसारको नतिजानिकाल्ननसके पनि रोहितले भने राम्रो प्रदर्शन गरिरहेका छन्। उनले उक्त प्रतियोगितामा गोल समेत गरेका छन्। बंगबन्दुमा किरणको अनुपस्थितिमा मैदानमा नेपाली टोलीको गोलपोस्ट विकेश कुथुले सम्हालेका थिए।

अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये नेपालले केही समय अगाडि २५ हजार डलर मात्रै पाएको थियो। सोहीकारण देखाउँदै नेपालले बंगबन्दु गोल्डकपमा सहभागिता जाउने वा नजनाउने कुनै निश्चित थिएन। बाँकी २५ हजार डलर नपाए गोल्डकप नखेल्ने अडान लिएको थियो। त्यही अडानका कारण अन्तिम समयमा पुरा रकम पाएपछि एन्फाले ढिला गरी बंगबन्धु गोल्डकप खेल्ने निश्चित गर्यो। बंगबन्धुमा सहभागिता जनाउने भएसँगै झन्डै पाँच वर्षपछि शुरु भएको शहिद स्मारक ‘ए’ डिभिजन लिग प्रभावित भएको छ। खेल प्रेमीहरुले प्रश्न गर्न थालेका छन्, एन्फालाई शहिद स्मारक लिगभन्दा बंगबन्दु गोल्डकप किन प्यारो?

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको ६ महिना बितिसकेको छ। कर्माछिरिङ शेर्पा नेपाली फुटबलको सर्वोच्च पदमा छन्। शेर्पा नेतृत्वको एन्फाले अहिले सम्म नयाँ आशलाग्दा योजना नल्याए पनि अहिलेसम्म गरेको एउटा उल्लेखनीय काम थियो सहिद स्मारक ‘ए’ डिभिजन लिग। बिना रेलिगेसन जस्ता विवादै विवादका बीचपनि शुरु भएको ‘ए’ डिभिजन लिग दुई दिन मै अनिश्चतकालका लागि स्थगित भयो। पाँच वर्षसम्म रोकिएको नेपाली फुटबललाई गति दिनुपर्ने बेला एन्फा नेतृत्वले देखाएको यो रवैयाले आर्थिक चलखेलको समेत आशंका गरिएको छ।

लिगका २ खेलमात्र संचालन गरी स्थगित गर्दा यसलाई कति प्राथमिकतामा राखेको छ त? फुटबल बचाउन एक वर्ष रेलिगेसन नगरी लिग गराएका हौं भन्ने एन्फाले त्यही लिगलाई किन गम्भीर रुपमा लिएन? लामो समयपछि हुन लागेको लिगलाई निरन्तरता दिन छाडेर एन्फाले बंगबन्धु खेल्ने निर्णय गर्नुका पछाडि के रहस्य छ? लिग स्थगित गर्दा लिगमा सहभागी १४ क्लबलाई कति घाटा वा नाफा भयो ? सहभागी क्लबलाई आर्थिक भार बढाउने गरी एन्फा किनबंगबन्धुमा सामेल भयो? यस्ता धेरै प्रश्नहरु उब्जिएका छन्। किनकी बंगबन्दु कुनै फिफा वा एएफसीको नियमित कार्यक्रमअन्तर्गतको प्रतियोगिता होइन।

राष्ट्रिय खेलाडी धेरै भएको क्लबमध्यको मनाङ मर्स्याङ्दीका महासचिव मुखियाकाजी शेर्पाले बंगबन्धुका कारण टोलीको तयारीमा असर परेको बताए। उनले भने, ‘राष्ट्रिय टोलीजाने भएपछि किनेको छु भन्दै खेलाडी रोक्नु भएन । एन्फाको चाहनाअनुसार चल्नु पर्ने अवस्था छ।’ शेर्पाले थपे, ‘अरु केही क्लबले एन्फाको निर्णयमा सहमति जनाएपछि हामीले मात्रै विरोध गरेर भएन। जसकाकारण हामीले चाहेर पनि बोल्न सक्ने अवस्था छैन्। केही खेलाडी बंगलादेश गएपछि हाम्रो तयारी पनि त्यति राम्रोसँग हुन सकेको छैन।’

लिग शुरु हुनु एक साताअघिमात्र एन्फाले बंगबन्धु खेल्नेबारे औपचारिक धारणा सार्वजनिक गरेको थियो। ‘आयोजकबाट पुरस्कार रकमआए प्रतियोगितामा सहभागिता जनाउने क्लबहरुसँग सर्त राखेका थियौं’, एन्फा प्रवक्ता किरण राईले भने, ‘जब सम्म पुरस्कार रकम आउदैन तबसम्म हामी बंगबन्दुमा सहभागिता नजनाउने भएका थियौ| । तर, अन्तिम साता उक्त बाँकी रकम आएपछि हामीले सर्त अनुसार नै प्रतियोगितामा सहभागिता जनाएका हौं।’ उनले थपे, ‘यदि हामीले त्यो पुरस्कार रकम आइसकेको अवस्थामा प्रतियोगिता खेल्न नगए राष्ट्रकै बेइज्जत हुने थियो।’राष्ट्रको छविलार्इ कायम राख्न बंगबन्दु रोज्नु परेको उनले बताए।

एन्फाले स्थगित लिग फेरि कहिले शुरु हुन्छ भनेर कुनै मिति तय गरेको छैन। एन्फाले नेपाल समूह चरणबाटै बाहिरियो भने टोली स्वदेश फर्किएलगत्तै लिग सुचारु गर्ने योजना बनाएको छ। यदि नेपालले जितेर अघिल्लो चरण पुग्यो भने एन्फाले नयाँ खेल तालिका बनाउने योजना बनाएको छ।

‘खेलाडीलाई बंगलादेश जाँदा ढुक्कसँग खेलेर आउनु भन्नुको सट्टा अरु केहि थिएन। अनि नेपालको प्रदर्शन अनुसार लिगको खेल तालिका बन्छ भन्नु एन्फाको अपरिपक्वता हो’, थ्री स्टारकामहासचिव संजिव शिल्पकारले भने, ‘यसरी खेलाडीलाई दुविधामा पार्ने काम एन्फाले गर्नु हुँदैनथ्यो। बंगबन्धु खेलिरहँदा खेलाडीलाई लिगबारे सोच्नुपर्ने हुन्छ । जसका कारण बंगलादेशमा खेलाडीको प्रदर्शनमा समेत असर परिरहेको छ ।’

यदि नेपाल समूह चरणबाटै बाहिरिदै स्वदेश फर्किए पनि लिगको सहभागिता कठिन हुने देखिएको छ। थुप्रै क्लबहरुले विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। स्थानीय खेलाडीहरुलाई अनुबन्ध गर्न पनि ठूलो रकम खर्च गरेको छ। रेलिगेसन नहुने प्रावधानले गर्दा यसपाली क्लबहरुमा त्यस्तो धेरै उत्साह भने देखिएन। नियमित रुपमा प्रतियोगिता हुँदा लिग फागुन १६ गतेसम्म चल्ने बताइएको थियो। तर, अब त्यसमा असर पर्ने देखिन्छ।