एन्फामा दर्ता भए खेलाडीे, विमलको क्लब टुङ्गो लागेन

क्लबहरुले अधिकांश राष्ट्रिय टिमका खेलाडीलाई समावेश गर्दैे एन्फामा नाम दर्ता गरेपनि स्ट्राईकर विमल घर्तिमगर भने सुचिमा अटाएका छैनन् । साफ फुटबलमा कीर्तिमानी ४ गोल गरेका विमलले लिग फुटबलकालागि अहिलेसम्म क्लब भेटाउन नसकेका हुन् ।

नेपालमा लिग नहुदाँ भारतीय क्लबमा समेत केही दिन खेलेका विमललाई लिन ठुला क्लबहरुले आनाकानी गरिरहेका छन् । खस्कदो फर्मका कारण पछिल्लो समय विमलको प्रर्दशन आलोचित बन्दै आएको छ । विमल केही समय अगाडी रुस्लान थ्रीस्टार क्लबमा आबद्ध भएका थिए । तर थ्रीस्टारले शुक्रबार सार्वजनीक गरेको टोलीमा उनी अटाउन सकेनन् ।

यद्धपी क्लबमा पदाधिकारीसंग भने विमल सम्पर्कमा छन् । निकट स्राेतका अनुसार विमललार्इ अन्तिम समयमा थ्रीस्टार वा च्यासल युथ क्लब मध्य एकले अनुबन्धन गर्न सक्नेछ ।