एन्टोइन ग्रिजम्यान एट्लेटिको म्याड्रिड फर्कन सक्ने

एट्लेटिको म्याड्रिडबाट बार्सिलोनामा अनुबन्ध भएका फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यानको बार्सिलोना यात्रा विवादमा परेको छ। एट्लेटिकोले बार्सिलोनाले अवैध रूपमा ग्रिजम्यानलाई लगेको भन्दै उनको अनुबन्ध रोक्न ला लिगा मुख्यालयमा उजुरी दिएको छ।

बार्सिलोनाले हालै ग्रिजम्यानलाई पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको थियो । बार्सिलोनाले ग्रिजम्यानको रिलिज क्लज बराबरको एक सय आठ मिलियन पाउन्ड रकम ला लिगाको कार्यालयमा ग्रिजम्यानका वकिलमार्फत बुझाएको थियो ।

त्यसपछि बार्सिलोनाले एकपक्षीय रूपमा खेलाडी अनुबन्ध गरेको एट्लेटिकोको आरोप थियो । एट्लेटिकोले बार्सिलोनाले नियमविपरीत आफ्ना खेलाडी लगेको भन्दै थप रकमसमेत माग गर्दै आएको छ।

एट्लेटिकोले ग्रिजम्यानका लागि बार्सिलोनासँग दुई सय मिलियन युरोको माग गरिरहेको छ । ग्रिजम्यानका विषयमा एट्लेटिकोले दिएको उजुरीका विषयमा स्पेनिस ला लिगा र स्पेनिस फुटबल संघले छानबिन गरिरहेको बताइएको छ । यदि एट्लेटिकोले ला लिगाबाट उचित निर्णय नपाएमा बार्सिलोनाविरुद्ध विश्व फुटबल महासंघ (फिफा) मा उजुरी दिने बताएको छ।

ला लिगाका अध्यक्ष जाभियर टेबसले एट्लेटिकोको उजुरीमा छानबिन भइरहेको र छानबिनपछि निर्णय चाँडै सार्वजनिक गरिने बताएका छन् । एट्लेटिकोले प्रमाणसहित बार्सिलोनाविरुद्ध उजुरी दिएकाले ग्रिजम्यानको सरुवामा प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

‘उजुरीको विषयमा अनुसन्धान जारी छ। कुनै पक्ष मर्कामा परेको भए उसलाई न्याय हुनेछ,’ टेबसले भने । बार्सिलोना दोषी ठहरिएमा उसलाई आर्थिक जरिबाना र ग्रिजम्यानको सरुवासमेत रोकिने सम्भावना छ।

ला लिगाले आफ्नो छानबिन सकेर कारबाहीका लागि स्पेनिस फुटबल संघलाई सिफारिस गर्नेछ । त्यसपछि संघको कारबाही र निर्णय नै अन्तिम हुनेछ । बार्सिलोनामा अनुबन्धन हुन पाउँदा खुसी देखिएको ग्रिजम्यानले गत मंगलबार बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसँग २-१ गोलले पराजित भएको थियो।

-अन्नपूर्ण