इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनामाथि २–१ को जित निकाल्दै इन्टर मिलान लगातार दोस्रो सिजन च्याम्पियन बन्न सफल भएको हो ।
सन् २०२१–२२ को सिजनमा इन्टरले युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । इन्टर लगातार दोस्रोपटक तथा समग्रमा नवौंपटक च्याम्पियन बन्न सफल भएको हो ।
रोमामा बुधबार राति भएको फाइनलमा इन्टरलाई च्याम्पियन बनाउन अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे । फियोरेन्टिनाका निकोलस गोन्जालेसको गोल सान्त्वना बन्यो ।
खेलको तेस्रो मिनेटमा नै निकोलस गोन्जालेसको गोलबाट फियोरेन्टिनाले अग्रता लिन सफल भएको थियो । उनले जोनाथनको पासमा गोल गर्न सफल भएका थिए ।
२९ औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्सेलो ब्रोजोभिचको पासमा गोल गर्न सफल भएका थिए ।
३७ औं मिनेटमा मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।
इन्टरले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।