एनसेलोटी आफ्नो पुर्व क्लबबाट रियलमा खेलाडी भित्र्याउन इच्छुक

एजेन्सी, रियल मड्रिडका प्रशिक्षक कर्लो एनसेलोटी आफ्नो पुर्व क्लब एभरटनबाट रियल मड्रिडमा खेलाडी भित्र्याउन इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार उनी एभरटनबाट ब्राजिलियन खेलाडी रिचार्लिसन भित्र्याउन इच्छुक छन्।

रिचार्लिसन पनि एभरटन छाड्न इच्छुक भएको खण्डमा मात्र एभरटनले उनलाई बेच्ने बारे सोच्ने भनिएको छ। रिपोर्टका अनुसार गत वर्ष बार्सिलोनाले रिचार्लिसनका लागि गरेको ८५ मिलियन पाउन्डको प्रस्तावलाई एभरटनले अस्विकार गरेको थियो। एभरटनसँग यो ट्रान्सफर सिजन खर्च गर्न पर्याप्त आर्थिक सामर्थ्य रहेको र खेलाडी बेच्नु पर्ने दबाबमा नरहेको पनि बताइएको छ।
२४ वर्षका ब्राजिलियन खेलाडी रिचार्लिसन अझै तीन वर्षका लागि एभरटनमा अनुबन्धित छन्। उनले एभरटनका लागि ११९ खेलमा ४२ गोल गरि सकेका छन्। उनी २०१८ मा वाट्फर्डबाट एभरटनमा अनुबन्धित भएका थिए।