एनअारटीलाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा

सहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा थ्री स्टारले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीका गोलरक्षक अजित प्रजापतिले थ्री स्टारका आधा दर्जन बढी गोलका अवसरलाई विफल पारेपनि टोलीको हार टार्न सकेनन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टार गोल गर्न सफल भएकाे थियो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिनले समान एक/एक गोल गरे ।

जितपछि थ्री स्टार ४ खेलबाट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मनाङ र संकटाको समान ९ अंक भएपनि गोल अन्तरका आधारमा थ्री स्टार दोस्रो स्थानमा उक्लिएको हो ।